तपाईँ सुन्दै हुनुहुन्छः

दोलखाको अकबरे कतारमा

दोलखा – पछिल्लो समय कृषि उत्पादनमा फड्को मारेको दोलखाले अकबरे खोर्सानी कतारमा निर्यात (निकासी) गर्न थालेको छ । यो बर्ष दोलखाबाट ५८ केजी अकबरे खोर्सानी निर्यात भएको भीमेश्वर अर्गानिक एग्रिकल्चर एण्ड रिसर्च प्रालिका अध्यक्ष भोला खतिवडाले बताउनुभयो

भीमेश्वर अर्गानिक एग्रिकल्चर एण्ड रिसर्च प्रालिले दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको एकसय रोपनी क्षेत्रफल जमिनमा अकबरे खोर्सानीसंगै बिभिन्न मौसमी तथा बेमौसमी तरकारी, किवि, एभोकार्डाे लगायतका फलफुलहरु अर्गानिक विधिबाट उत्पादन गर्दै आएको छ ।

खाडी मुलुकमा अकबरे खोर्सानीको माग उच्च रहेको देखिएपछि भीमेश्वर अर्गानिक एग्रीकल्चर एण्ड रिसर्च प्रालिले नेपालबाट अर्गानिक तरकारीहरु निर्यात गर्दै आएको अल समन कम्पनि मार्फत पहिलो पटक ५८ केजी अकबरे खोर्सानी निर्यात गरेको अध्यक्ष खतिवडाले बताउनुभयो ।

खाडी क्षेत्रमा हरियो अकबरे खुर्सानीको ठूलो माग रहेको बुझिएकोले कतारमा ताजा अर्गानिक तरकारी निकासी गरिरहेको अल समन कम्पनीमार्फत खुर्सानी निकासी गर्न शुरु गरिएको खतिवडाको भनाई छ । रिसर्च प्रालिले किवि, एभोगार्डो लगायतका फलफुल उत्पादनमा लामो समय लाग्ने भएकोले खाली रहेको जमिनमा रासायनिक मलको प्रयोग नगरी अकबरे खोर्सानी उत्पादन गर्दै आएको खतिवडाले बताउनुभयो । स्थानीय बजारमा प्रति केजी तीनसय रुपैयासम्ममा बिक्री वितरण हुँदै आएको अकबरे खोर्सानीको उत्पादन बढाउन सकिए खाडी मुलुकमा राम्रो मूल्यमा बिक्री गर्न सकिने कम्पनीको दावी छ । तर त्यसरी उत्पादन गरिएको अकबरे खोर्सानी बिशुद्ध अर्गानिक हुनुपर्ने अध्यक्ष खतिवडा बताउनु हुन्छ ।

रिसर्च प्रालीले आगामी दिनमा अल समनसँग सम्झौता गरी दोलखालगायतका ठाँउका सर्वसाधारण किसानले उत्पादन गरेको अकबरे खुर्सानी खरिद गरी ठुलो परिणाममा निर्यात गर्ने योजना बनाएको अध्यक्ष खतिवडा बताउनु हुन्छ ।

अकबरे खुर्सानीलाई बोटमा रातो बनाएर राख्दा किराको संक्रमण बढ्ने खतरा रहने तर हरियोमा नै टिप्दा भने किराले खासै दुःख नदिने तथा उत्पादन पनि छिटै हुने भएकोले हरियो अकबरेको ब्यवस्थित रुपमा निकासी गर्न सके सर्वसाधारण किसानलाई ठूलो लाभ मिल्न सक्ने प्रालिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button