तपाईँ सुन्दै हुनुहुन्छः

विश्वभर कहाँ कति बजे लगाइदैछ भाइटीका ?

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यही कात्तिक १२ गते को भाइ टीकाको साइतको समय स्थानअनुसार फरक फरक तोकेको छ । विभिन्न स्थानमा  एउटै तिथीमा भाइटीका परे पनि समय भने फरक रहेको छ ।

समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य सन्तोष बशिष्ठले संयुक्त विज्ञप्ति जारी गरि भाइटिकाको समयतालिका सार्वजनिक गरेका हुन् ।

विज्ञप्ति अनुसार काठमाडौंमा टीकाको साइत कात्तिक १२ गते बिहान ११:५५ बजे तोकिएको छ भने भारतको नयाँ दिल्लीमा सोही दिन बिहान ११:४५ बजे तोकिएको छ ।

अमेरिकाको न्यूयोर्कमा  अक्टोबर २९ सोही दिन मध्यान्ह १२:५१ बजे, अमेरिकाकै केन्टुकीमा सोही दिन १२:१८ बजे, अमेरिकाकै टेक्सासमा १२:५७ बजे र अमेरिकाको क्यालिफोर्नियामा १२:५१ बजेको समय तोकिएको छ ।

त्यस्तै, बेलायतको लण्डनमा २९ तारेखको दिन ११:४५ बजे, क्यानडाको टोरन्टोमा सोही दिन १३:१५ बजे, जापानको टोकियोमा ११:५१ बजे, अष्ट्रेलियाको सिड्नीमा १३:०५ बजे, अष्ट्रेलियाकै मेलबर्नमा १२:५० बजे, सोही देशको ब्रिसबेनमा १२:०५बजेको समय तोकिएको छ ।

यसैगरी, पोर्चुगलको लिस्बनमा १२:३० बजे, फ्रान्सको पेरिसमा १२:१० बजे, मलेसियाको क्वालालम्पुरमा १२:३१ बजे, युएईको अवुधाबीमा १२:०३ बजे समय तोकिएको छ ।  कतारको दोहामा सोही दिन बिहान ११:१५ बजे, थाइल्याण्डको बैंककमा ११:४५ बजे, दक्षिण कोरियाको सिउलमा १२:१५ बजेको समय तोकिएको छ ।

यस्तै, इजरायलको तेलअभिभमा ११:४० बजे, सिंगापुरमा १२:३१ बजे, हङकङमा १२:०१ बजे र साउदी अरेबियामा ११:३६ बजेको समय तोकिएको सो समितिले जनाएको छ ।

साथै यस वर्षको यमपञ्चक कात्तिक ८ गते शुक्रबारदेखि शुरु भएको छ  । आजदेखि यमदीप दान शुरु गरिन्छ । कात्तिक ९ गते शनिबार काग तिहार परेको छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि यसै दिन परेको छ ।

कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । बिहान ११ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत्रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताए ।

गाई, गोरु र आत्म(म्ह) पूजा भने कात्तिक ११ गते सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । ११ गते बिहान ९:४३ बजेसम्म औँशी तिथि पर्दछ । त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म(म्ह) पूजा यसै दिन गर्नुपर्ने हुन्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिन्छ । कात्तिक १३ गते बिहान ६:१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्र सम्मत हुने समितिको ठहर छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button