तपाईँ सुन्दै हुनुहुन्छः

कारागार अस्पतालमा दन्तसेवा शुरु, बिरामीको चाप बढ्दो

काठमाडौँ-नेपालको एकमात्र कैदीबन्दीको उपचार गर्ने कारागार अस्पतालले दन्तसेवा शुरु गरेको छ । मुलुककै सबैभन्दा ठूलो कारागार केन्द्रीय कारागार सुन्धारा परिसरमा रहेको कारागार अस्पतालले असोजदेखि विशेषज्ञद्वारा दन्तसेवा शुरु गरेको हो । विसं १९७१ मा केन्द्रीय कारागार जगन्नाथदेवलको स्थापना भए पनि स्वास्थ्य सेवा भने २०२० सालदेखि प्रदान गर्दै आएको हो ।

२०२० सालमा एक कोठाबाट कैदीबन्दीको स्वास्थ्य चेकजाँच गरे पनि २०६८ सालदेखि १५ श्ययाको अस्पतालमार्फत सेवा प्रदान गरिएको थियो । गत वर्ष ३० श्ययाको अस्पतालका रूपमा स्तरोन्नति गरिएको उक्त अस्पतालले श्ययाको स्तरोन्नतिसँगै सेवासमेत थप गरेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सचिन यादव कैदीबन्दीको स्वास्थ्यलाई ध्यानमा राखेर सेवा विस्तार गरिएको बताउनुहुन्छ ।

कारागार अस्पतालले हाल बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, छालारोग, आँखा, मनोरोग, क्षयरोग, कुष्ठरोग लगायतका सेवा प्रदान गर्दै आइरहेको छ । दशौँ तहको अधिकृतको नेतृत्वमा ६७ जनाको दरबन्दी रहने गरी अस्पताल सञ्चालन भएको छ । केन्द्रीय कारागारमा हाल तीन हजार २०८ कैदीबन्दी छन् । केन्द्रीय कारागारभित्र केन्द्र, भद्र र महिला जेल रहेको छ ।

तीन वटैमा कैदीबन्दी राख्ने क्षमता एक हजार ५०० रहेको केन्द्रीय कारागारका प्रमुख एवं जेलर लक्ष्मीप्रसाद बाँस्कोटा बताउनुहुन्छ । डा यादव कारागार अस्पतालले पुरुष तथा महिला कैदीबन्दीका लागि छुट्टाछुट्टै वार्ड स्थापना गरेर ओपिडी, ल्याब, एक्सरे, इसिजी, अल्ट्रासाउन्ड, डेन्टल, मनोरोग, छालारोग र आँखा रोगको उपचार गरिरहेको बताउनुहुन्छ । पन्ध्र श्ययाको अस्पताल सञ्चालनमा ३१ दरबन्दी रहेको अस्पतालले ३० श्ययाको अस्पताल सञ्चालन गर्नका लागि ३६ दरबन्दी थप गरेको छ ।

उक्त अस्पतालमा हाल ५५ चिकित्सकले उपचार गरिरहेका छन् । अस्पतालभित्र उपचार हुन नसकेका बिरामीलाई भने अस्पताल बाहिरका सरकारी अस्पतालमा पठाउने गरिएको छ ।

कैदीबन्दीले निजी अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गर्न चाहेमा आफ्नै पैसा खर्च गर्नुपर्ने हुन्छ । कारागार अस्पतालले भने निःशुल्क स्वास्थ्य जाँच गर्दै आएको छ । अस्पतालका बिरामीमा अहिले रुघाखोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका सरुवा रोग देखापरेको छ । साँघुरो ठाउँ र धेरै कैदीबन्दी राख्दा त्यस्ता रोग बढी देखिएको चिकित्सकले बताएका छन् । देशका सबै कारागारका बिरामी कैदीबन्दीको उपचार कारागार अस्पतालले गर्नुपर्ने भएकाले बिरामीको भिडभाड दैनिक रूपमा बढ्दै गएको डा यादव बताउहुन्छ ।

कारागार अस्पतालले दैनिक १०० देखि १५० बिरामी कैदीबन्दीको उपचार गरिरहेको छ । अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि अस्पताल प्रशासनले ११औँ तहको दरबन्दी र चिकित्सक माग गरेको छ । यस्तै, शल्यक्रिया र प्रसूति उपचारको समेत व्यवस्था मिलाउनका लागि माग गरिएको अस्पतालले जनाएको छ । अस्पतालले बिरामी कैदीबन्दीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर चौबिसै घण्टा सेवा सञ्चालन गर्दै आएको छ । कारागार व्यवस्थापन विभागका अनुसार हाल देशभरका ७२ जिल्लामा ७४ कारागार रहेका छन् ।

काठमाडौँ र दाङमा दुई÷दुई कारागार रहेका छन् भने भक्तपुर, बारा, धनुषा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैन । हाल देशभरका ७४ वटै कारागारमा पुरुष कैदीबन्दी रहेका छन् भने ५३ कारागारमा मात्र महिला कैदीबन्दी छन् । यस्तै, भक्तपुर, कास्की, विराटनगर, मकवानपुर, पर्सा, रुपन्देही, बाँके र डोटीमा भने बालसुधार केन्द्रहरु सञ्चालनमा रहेका छन् । सरकारले आव ०७५÷७६ मा मात्र तुलसीपुर, धादिङ, सङ्खुवासभा, कास्की, अछाम, भीमफेदी र कपिलवस्तु कारागारको क्षमता वृद्धि गरेको छ । यी स्थानमा एक हजार ३०० बढी कैदीबन्दी राख्न सकिनेछ । विभागका अनुसार हाल देशभर २३ हजारको हाराहारीमा कैदीबन्दी रहेका छन् । देशभर कारागारको क्षमता भने १५ हजार ४६६ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button