तपाईँ सुन्दै हुनुहुन्छः

भौतिक विकास मात्रै विकास होइन: मन्त्री थापा

काठमाडौं-महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले भौतिक विकास भन्दा महत्वपूर्ण विकास मानविय विकास भएको बताउनुभएको छ ।

उहाँले भौतिक विकासमा राज्यको करोडौ रकम खर्च भइरहेको भएपनि मानविय विकास नहुदाँ सम्म त्यो प्रभावकारी नहुने बताउनुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैगिक हिंसा विरुद्धको अभियान बर्ष मनाइरहेको सन्दर्भमा सामाजिक संघसंस्थाका व्यक्तीहरु संग आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताउनुभएको हो ।

उहाँले आम मानिसहरुले समतामुलक र न्यायमुलक रुपमा बाच्न पाइरहेका छन की छैनन् भन्ने कुरा महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो “हामीले अहिले सम्म भौतिक विकासलाई मात्र विकास भनिरहेका छौ,त्यो भन्दा महत्वपूर्ण विकास मानविय विकास हो ।” सरकारले लैगिंक हिंसा विरुद्ध बर्ष अभियान मनाइरहदा सरोकारवालाहरु हातेमालो गरेर अघि बढ्नुपर्ने मन्त्री थापाको भनाइ छ ।

तर सरकारले भौतिक विकासलाई मात्रै विकास मान्दा सामाजिक सवालहरु ओझेलमा पर्ने गरेको उहाँले धारणा व्यक्त गर्नुभयो । ‘जब मानिसको बौद्धिक, नैतिक विकासलाई सवाल बनाइदैन, हाम्रो सामाजिक विकास जहिल्यै पछाडी पर्छ, यसकारण हामी सबै मिलेर परिभाषालाई परिस्कृत र सुसस्कृत गरौ,’ मन्त्री थापाले भन्नुभयो ।

लैगिक हिंसालाई न्यूनीकरण गर्नका लागि सरकारले विभिन्न सरोकारवाला व्यक्तीहरु संग छलफल गरिरहेको छ । मुलुकभित्र हुने मानव बेचविखन तथा ओसारपसारमा सरकारको ध्यान नपुगेकामा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

तीन तहको सरकारको अभ्यास भैरहदा पनि यसप्रति चासो नपुगेको हिमालयन ह्युमन राइट्स मनिटर्स (हिमराइट्स) की अध्यक्ष अञ्जना शाक्यले बताउनुभयो । ‘मानव बेचविखन भनेपछि सबैको ध्यान ‘क्रसबोर्डर’ मा केन्द्रित छ, देशभित्रको बेचविखनमा चासो पुगेको छैन, यसको वास्तविक स्थिती भने भयावह बनिसकेको छ, यतातर्फ ध्यान दिनु जरुरी देखिएको छ,’ उहाँले भन्नुभयो ।

महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समुह नेपाल (एटविन) का अनुसार देशभित्र मनोरञ्जन, वेश्यावृत्ति÷यौनशोषण, घरेलु÷होटल कामदार, कलकारखाना, ईटा भट्टा, ढुंगा खानी, जरी र अन्य कारखाना तथा अंङ्ग व्यापार गर्ने उद्धेश्यले मानव बेचविखन भैरहेको छ ।

पछिल्लो समय मानव बेचविखनको ‘ट्रेन्ड’ परिवर्तन भएको सरोकारवालाहरुले बताए । ‘प्रविधिको पहु“चले गर्दा महिला तथा बालिकाहरु सामाजिक सञ्जालको माध्यमबाट बेचिन पुग्ने गरेका छन्, यसअनुसार उद्धारका लागि सरकारले आवश्यक नीति तथा कानुन ल्याउनु आवश्यक छ,’ आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले भन्नुभयोे ।

यो सस्थाले बिशेषगरी भारतमा बेचविखनमा परेका चेलीबेटीको उद्धार गर्ने गर्छ । बेचविखनमा परेका तीन पिडितलाई दशैअघि भारतबाट उद्धार गर्दा दुईजना सामाजिक सञ्जालबाट सम्पर्क भएर त्यहा“ पुगेका थिए । भट्टराईका अनुसार बेचविखनमा परेकालाई उद्धार गरिसकेपछि परामर्श दिने र सरकारले अनुगमन गर्नुपर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए ।

यसैगरी एटविनकी कार्यकारी निर्देशक बेनुमाया गुरुङले उद्धारसंगै व्यवस्थापनलाई ध्यान दिनुपर्ने बताउनुभयो। ‘उद्धारमात्रै ठुलो कुरा हैन, उद्धारपछि परामर्श, कानुनी सहयोग, सेल्टर, भविश्यको सुनिश्चितता लगायतको व्यवस्थापन महत्वपुर्ण छ,’ उहाँले भन्नुभयो् । उहाँले बेचविखनविरुद्धको अवधारणा नै स्पष्ट नभएकाले न्युनीकरण तथा नियन्त्रणमा चुनौती भइरहेको बताउनुभयो । प्रभावितको गोपनीयता कायम नहुने, पुर्नस्थापना, बेृचविखनका नया“ स्वरुप तथा आयामहरु, राजनैतिक संरक्षण, कानुनको प्रभावकारी कार्यान्वयनको अभावलगायतका कारणले बेचबिखन न्युनीकरणमा समस्या भएको छ ।

सरकारले यस वर्ष लैगिंक हिंसा विरुद्धको अभियान बर्ष मनाइरहेको छ । यसै अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र महिला तथा बालबालिका बेचविखन विरुद्ध सहकर्मी समुह नेपाल (एटविन) ले आयोजना गरेको ‘मानव बेचबिखन तथा व्यावसायिक बाल यौन शोषणको अवस्था सम्बन्धी’ अन्तरक्रियामा सहभागीले संघीयताको अभ्यासलाई जोड दिनुपर्ने बताए । कार्यक्रममा एटविनमा आवद्ध ४० संस्थाका सहभागी उपस्थित थिए ।

एटविनका अनुसार भारत र चीनसंगको खुला सिमानका कारण महिला तथा बालिकाहरु बेचखिनमा पर्ने गरेका छन् । उनीहरु वेश्यावृत्ति÷यौन शोषण, घरेलु÷होटल कामदारका रुपमा प्रयोग भैरहेका छन् । चीनमा भने विशेष गरि खासा र कुति तिरको मनोरञ्जन क्षेत्र किशोरीहरुको प्रयोग हुने गरेको छ ।

प्रदेश—५ को लुम्बिनी क्षेत्रका किशोरीहरु भारतीय नागरिकहरुबाट बेचविखनको सिकार बन्ने गरेका छन् । ‘भारतीयहरु लुम्बिनी भ्रमणको निहु“मा शुक्रबार आउने, शनिबार बसेर फर्कदा किशोरीहरुलाई यौन हिंसा गर्ने, कामदारको रुपमा लिएर जाने गरेका पाइएको छ,’ एक संस्थाकी प्रतिनिधिले बताउनुभयो ।

मलेशिया, इजरायल, लेबनान, अफ्रिकी मुलुक, दक्षिण कोरियाजस्ता देशहरुमा कामदार, यौन शोषण प्रयोजनका लागि नक्कली विवाह तथा विद्यार्थीं भिजामाफर्त नेपाली महिलाहरु बेचविखनमा पर्दै आएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अनुसार नेपालबाट वर्षेनी १० हजारदेखि १२ हजार सम्म महिला तथा बालबालिकाको बेचबिखन भैरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button