तपाईँ सुन्दै हुनुहुन्छः

वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवनलाई   

काठमाडौँ –  चितवन राइनोजले पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल) टि–२० प्रतियोगिताको उपाधि जितेको छ ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको फाइनल खेलमा चितवन राइनोजले क्याट क्विन्स काठमाडौँलाई ४५ रनले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसँगै चितवनले रु सात लाख पुरस्कार प्राप्त गर्यो । त्यस्तै उपविजेतामा चित्त बुझाएको काठमाडौँले रु तीन लाख हात पार्यो ।

चितवनले दिएको ११३ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौँ २० ओभरमा सबै विकेट गुमाउँदै मात्र ६७ रनमा समेटियो । काठमाडौँका लागि अप्सरी बेगमले सर्वाधिक १५ रन जोडिन् भने ममता थापा र ईश्वरी विष्टले १३÷१३ रन जोडिन् । काठमाडौँलाई सस्तैमा समेट्ने क्रममा सुमन खतिवडा र ऋतु कनोजियाले समान ३÷३ विकेट लिए भने रेखा रावलले २ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाएको थियो । चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन जोडिन् भने कप्तान इन्दु बर्माले २२, काजल श्रेष्ठले २१ तथा कञ्चन श्रेष्ठले १९ रन जोडिन् ।

काठमाडौँकी सङ्गीता राई, लक्ष्मी साउद र सरस्वती चौधरीले १÷१ विकेट लिइन् । लिगमा चितवन अपराजित रहँदै च्याम्पियन बनेको हो । क्विन्स इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको उक्त प्रतियोगितामा पाँच शहरका पाँच टोलीको सहभागिता रहेको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button