तपाईँ सुन्दै हुनुहुन्छः

बलात्कारपछि हत्या घटनामा संलग्नलाई अमेरिकाबाट पक्राउ

काठमाडौँ, ढिलो चाँडो होला तर अपराधी कहीँ गए पनि छुट्दैन भन्ने उदाहरण पेस गर्दै प्रहरीले बलात्कारपछि हत्या गरेको घटनामा संलग्न एक व्यक्तिलाई १९ वर्षपछि पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार झापा भद्रपुर नगरपालिका–९ घर भएका ४२ वर्षीय लीलाराज गौतमलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट जन्मकैद फैसला सुनाइएका गौतमलाई इन्टरपोलको सहयोगमा अमेरिकाको मियामीबाट पक्राउ गरी बुधबार काठमाडौँ ल्याइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ । उनलाई बुधबार नै जिल्ला अदालत काठमाडाँैमा पेश गरिएकोमा अदालतको आदेशले कारागार कार्यालय डिल्लीबजार चलान गरिएको व्यूरोका प्रहरी उपरीक्षक आभूषण तिमिल्सिनाले जानकारी दिनुभयो ।

विसं २०५७ असोज २९ गते राति सन्ध्या राजवंशीलाई सीताराम बस्नेतले घरबाट बोलाइ लगेको तथा गौतम र मनोज खड्कासमेतले करणी गरी घाँटी थिची हत्या गरेर रुखमा झुण्ड्याइ भागेका थिए । असोज ३० गते बिहान झापाको चारआली जङ्गलमा सन्ध्याको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । सोही घटनामा सर्वोच्चले दोषी ठहर गरेको थियो । दुई दिनअघि मात्रै आफ्नै बाबुको हत्या गरेको आरोप लागेका अर्का एक व्यक्तिलाई पनि प्रहरीले २० वर्षपछि पक्राउ गरेको थियो ।

दुर्घटनामा मृत्यु

काठमाडौँ महानगरपालिका १५ हलचोकस्थित सडकमा बा४ख ८४०६ नंको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बुधबार बसले ठक्कर दिँदा गम्भीर घाइते नागार्जुन नगरपालिका–३ ठूलो भ¥याङकी ६७ वर्षीया सानुमाया श्रेष्ठको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पैदल हिँड्दै गर्दा उनलाई बसले ठक्कर दिएको थियो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यसैबीच काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनस्थित आदर्शनगर चोक डेरा गरी बस्ने एक व्यक्ति मृत फेला परेका छन् । बारा सिम्रौनगढ घर भएकी ३५ वर्षीया सन्तमाया शाह आफ्नै कोठामा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button