तपाईँ सुन्दै हुनुहुन्छः

थानिमाई मन्दिरमा दर्शनार्थीको घुइँचो

तनहुँ । तनहुँको भानु नगरपालिका ७ मा रहेको थानि माई मन्दिरमा भक्तजनकोहरुको भिड बढ्न थालेको छ । श्रावण महिना बाहेक प्रत्येक महिनाको पहिलो मंगलबार विशेष पुजाआजा हुने यस मन्दिरमा पछिल्लो समयमा भक्तजनहरुको भिड बढ्न थालेको हो ।

मन्दिरमा मंगलबार देशका विभिन्न स्थानबाट आएका हजारौ भक्तजनले पुजाआजा गरेको छन् । विशेष गरी सत्यनारायण पुजाको विसर्जन गर्नका लागि फुलका डोली सहित थानिमाई मन्दिरमा पुग्नेहरु अत्याधिक रहेको मन्दिर ब्यवस्थापन समितिका सविच हर्क थापाले बताउनुभयो । थापाले मंगलबार तनहुँ सहित, लमजुङ्ग, गोर्खा, कास्की, नवलपरासी, धादिङ लगायतका स्थानबाट ६५ डोलीसहित भक्तजनहरु आएको जानकारी दिनुभयो । मंगलबार मात्र ५ हजार भन्दा बढीले मन्दिरमा पुजा अर्चना गरेका छन् ।

यता मन्दिरमा आउने दर्शनार्थीहरुको भिड बढ्न थालेपनि मन्दिरको प्रचार गर्न भने नसकिएको सोही वडाका वडाध्यक्ष रामकृष्ण देवकोटाले बताउनुभयो । उहाँले मन्दिर ब्यवस्थापन समितिसँग पत्रकारहरुलाई बोलाएर थप प्रचार गर्ने र मन्दिरको भौतिक पूर्वाधारमा विकास गर्ने योजनामा सहित छलफल भईरहेको जानकारी दिन्भयो ।

यस मन्दिरमा सन्तान प्राप्ति, हराएका परिवारका सदस्य फेला पार्न, जागिर खानलगायतका भाकलसहित देशका विभिन्न स्थानबाट भक्तजनहरु पुग्ने गरेका छन् । मन्दिर जिल्लाको डुम्रेबजार स्थित पृथ्वीराज मार्गबाट १८ किलोमिटरको दुरीमा रहेको छ ।

झण्डै ४५० बर्ष अघि भानुनगरपालिकाको वडा न ७ स्थित कोटथोकमा एकजना महिला र बच्चा हाल मन्दिररहेको स्थानमा बास बसेको र सोही रात भयानक आँधीबेहेरीले जनधनको क्षति भएको जानकारहरु बताउँछन् । सोही स्थानका स्थानीय मान सिं पाटा मगरको सपनामा मन्दिर बनाएर पुजा गर्नुपर्ने सुझाव पाएर मन्दिर स्थापना पश्चात समस्या समाधान भएको किंवदन्ती रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button