तपाईँ सुन्दै हुनुहुन्छः

रामग्राममा मङ्सिर २ देखि ‘नवलपरासी औद्योगिक व्यापार मेला’

परासी –  भगवान् गौतम बुद्धको अस्तुधातु रहेकोस्थल रामग्राममा आगामी मङ्सिर २ गतेदेखि ‘नवलपरासी औद्योगिक व्यापार मेला’ सञ्चालन हुने भएको छ । पश्चिम नवलपरासी जिल्लालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्दै लगानीको वातावरण बनाउने उद्देश्यले सञ्चालन हुन लागेको सो मेला मङ्सिर १४ गतेसम्म सञ्चालन हुनेछ ।

जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको सो मेलामा स्थानीयस्तरमा सञ्चालित घरेलु उद्योगदेखि बहुर्राष्ट्रिय कम्पनीका उत्पादन राखिने सङ्घका अध्यक्ष केशव भण्डारीले बताउनुभयो । “धार्मिक, ऐतिहासिक, पुरातात्विक, औद्योगिक, कृषि, एवं पर्यटकीय महत्वको यस जिल्लामा राष्ट्रिय एवं बहुर्राष्ट्रियस्तरका ठूला, मझौला र साना गरी ७०० भन्दा बढी उद्योग सञ्चालनमा रहेका र थप उद्योग स्थापना हुने क्रममा रहेकाले ती उद्योगलाई प्रवद्र्धन गर्दै साना तथा ठूला लगानीकर्ता भित्र्याउने हाम्रो उद्देश्य हो”, अध्यक्ष भण्डारीले भन्नुभयो ।

तेह्र दिनसम्म सञ्चालन हुने उक्त मेलामा तयारी पोशाक तथा हस्तकला, छाला जुत्ता तथा छालाजन्य वस्तु, घरेलु तथा लघु उद्यमीद्वारा उत्पादित वस्तु, आधुनिक कृषि उत्पादन र उपकरण, ऊर्जा तथा आधुनिक प्रविधि, सूचना तथा सञ्चारका आधुनिक उपकरण, पर्यटन सूचना केन्द्र लगायत १९० स्टल प्रदर्शनमा राखिने सङ्घले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय धरोहर प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक बढाउन मेलामा विशेष जोड दिइने सङ्घले जनाएको छ ।

पश्चिम नवलपरासीमा गौतमबुद्धको अस्तुधातु स्थल र प्राचीन रामग्राम स्तुपसहित पण्डितपुर, अनोमाघाट, बुद्धमङ्गल ताल, देवदह ताल, कोलवृक्षसहित सेनकालीन पाल्हीभगवती मन्दिर, महलपोखरी, चुहाडी, बाबा बर्दगोरिया धाम, कृष्णधामलगायत थुप्रै धार्मिक तथा पर्यटकीय स्थल छन् । रामग्राम नगरपालिकाको संरक्षकत्वमा पाँचौ पटक सञ्चालन हुन लागेको सो मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने र पाँच करोडभन्दा बढीको कारोवार हुने अनुमान गरिएको सङ्घका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

“मेलामा किसान, उद्योगी र व्यवसायीबीच उनीहरूका अवसर, समस्या र चुनौतीबारे अन्तक्र्रिया गरिनाका साथै जिल्लामा सञ्चालित उद्योगका उत्पादन निर्यात र प्रवद्र्धनका लागि जोड दिइनेछ, कलकत्ता बन्दरगाहदेखि नेपालको सबैभन्दा छोटो दुरीमा रहेको महेशपुर भन्सार पनि यसै जिल्लामा रहेकाले उत्पादित वस्तुको बजार प्रवद्र्धन, गुणात्मक स्वच्छ प्रतिस्पर्धाको विकास गर्ने तथा निर्यात व्यापारलाई प्रवद्र्धन गर्न यस मेलाले टेवा पुग्नेछ”, अध्यक्ष भण्डारीले भन्नुभयो ।

रामग्राम नगरपालिका–४ मा सञ्चालन हुने यस मेलामा पाल्पाको करुवासहित लोप हुने अवस्थामा रहेका परम्परागत प्रविधिको छुट्टै प्रदर्शन गरिने तथा दर्शकको आकर्षणका लागि तराईमा लोकप्रिय मानिने कुस्ती खेल, ख्यातिप्राप्त कलाकार तथा स्थानीय समुदायका परम्परागत वेषभूषा र संस्कृति पनि प्रदर्शन गरिने सङ्घका महासचिव गिरिराज पाण्डेले बताउनुभयो । मेला सञ्चालनका लागि तयारी अघि बढाइसकिएको उहाँको भनाइ थियोे ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button