तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा नेकपाको एकता प्रक्रिया अन्तिम चरणमा

सुर्खेत। कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय कमिटी गठन अन्तिम चरणमा पुगेका छन् । नेकपाले सुर्खेतबाहेक सबै जिल्लामा निर्वाचन क्षेत्र, स्थानीय तह र वडा कमिटीका पदाधिकारीका साथै इञ्चार्ज चयन गरिसकेको छ ।

नेकपा प्रदेश कमिटी सचिव मायाप्रसाद शर्माले कर्णालीका सुर्खेतबाहेक बाँकी नौ जिल्लाका प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी, स्थानीय तह (गाउँ–नगरपालिका), वडा कमिटीका पदाधिकारी चयन गरिसकेको जानकारी दिनुभयो । पार्टीको सम्बन्धित जिल्लाकै नेतृत्वले निर्वाचन क्षेत्र र स्थानीय कमिटी गठन गर्नुका साथै नेताहरूको कार्यविभाजन गरेको हो ।

सुर्खेतका जिल्ला सचिव कृष्ण जिसीले तिहारअघि नै एकताका बाँकी काम सम्पन्न गरिने बताउनुभयो । यहाँ प्रतिनिधिसभाका दुई, प्रदेशसभाका चार र नौ स्थानीय तह छन् । सचिव जिसीले अध्यक्षको कार्यव्यस्तताका कारण ढिला भएको बताउनुभयो । त्यस्तै, दैलेख जिल्ला कमिटीले मङ्गलबार स्थानीय कमिटीका अध्यक्ष, सचिवका साथै सम्बन्धित स्थानीय तहका इञ्चार्ज तोकेको छ । त्यहाँका ११ स्थानीय तहमध्ये पूर्वएमाले पक्षका छ तथा पूर्वमाओवादी पक्षकाले पाँच स्थानीय तहको नेतृत्व पाएका छन् ।

दैलेखमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीका पदाधिकारी पनि चयन गरिएको छ । यसअघि जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, मुुग, डोल्पा, रुकुमपश्चिम र सल्यानका स्थनीय तहमा पार्टी एकता भइसकेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button