तपाईँ सुन्दै हुनुहुन्छः

थुलुङदूधकोशी गाउँपालिकालाई ८५ लाख बराबरको जग्गा दान

 सोलुखुम्बु। थुलुङदूधकोशी गाउँपालिकालाई साढे १७ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । स्थानीय समाजसेवी एकाबहादुर गुरुङले यसअघिको प्रतिबद्धताअनुसार गाउँपालिकालाई उक्त जग्गा रजिष्ट्रेशन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अबिलाल राईले जानकारी दिनुभयो ।

अधिकृत राईका अनुसार करीब रु ८५ लाख बराबरको जग्गा गाउँपालिकाको नाममा निःशुल्क प्राप्त भएको हो । गाउँपालिकाको भवन निर्माण गर्नेबेला मौखिकरूपमा सहमति भएअनुसार गाउँपालिकाको नाममा रजिष्ट्रेशन पास भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । स्थानीय समाजसेवी गुरुङले १७.५ रोपनी जग्गा कानूनीरूपमा गाउँपालिकाको नाममा पास गरिदिएको अध्यक्ष राईले बताउनुभयो । सानो सहयोगले सिङ्गो गाउँपालिकाको विकासका लागि टेवा पुग्ने भएकाले जग्गा उपलब्ध गराएको जग्गादाता गुरुङको भनाइ छ ।

गाउँपालिकाको केन्द्र मुक्लीमा रहेको उक्त जग्गामा एक वर्षअघि नै गाउँपालिकाको सुविधासम्पन्न भवनसमेत निर्माण भइसकेको छ । यसअघि गाउँपालिकाले व्यक्तिको नामको जग्गामा सरकारी भवन बनाएको आरोपसमेत लागेको थियो । आफूहरुले गाउँपालिकाको नाममा दिइसकेको जग्गामा केही व्यक्तिले अनावश्यक विवाद गरेको जग्गादाता एकाबहादुरका छोरा जीवन गुरुङले गुनासो गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button