तपाईँ सुन्दै हुनुहुन्छः

‘साझा विदेश नीति निर्माण गरी अगाडि बढ्नुपर्छ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले देशको विकास र समृद्धिका लागि अन्तराष्ट्रिय सहयोग प्राप्त गर्न सम्पूर्ण राजनैतिक दलहरू साझा विदेश नीति निर्माण गरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

चीनियाँ राष्ट्रपति सी चिनफिङबाट सम्पन्न नेपाल भ्रमणको समिक्षा गर्न मदन भण्डारी अध्ययन केन्द्रले आज काठमाडौंमा गरेको कार्यक्रममा वरिष्ठ नेता नेपालले सरकार परिवर्तन हुँदा देशको परराष्ट्र नीति र अन्तराष्ट्रिय सम्बन्धका प्राथमिकता समेत परिवर्तन हुने गरेका कारण नेपालले पर्याप्त फाईदा लिन नसकेको बताउनुभयो ।

चीनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशको राजनैतिक नेतृत्व बीच आत्मीय सम्बन्ध स्थापित गरेको बताउनुहुँदै वरिष्ठ नेता नेपालले भ्रमणका क्रममा भएका सझौताहरूको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उप–प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले चीन र भारतले आर्थिक विकास र सामाजिक रूपान्तरणका क्षेत्रमा हासिल गरेको उपलब्धिबाट नेपालले लाभ लिन सक्नुपर्नेमा जोड दिनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले चीनियाँ राष्ट्रपतिको भ्रमणले अन्तराष्ट्रिय क्षेत्रमा नेपालको छुट्टै पहिचान स्थापित भएको र यसबाट नेपालको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button