तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली राजमार्गका दर्जनौ पुल वर्षाैदेखि अलपत्र

दैलेख – कर्णाली राजमार्ग बिगत लामो समयदेखि मृत्यु मार्गको रुपमा चिनिदै आएको छ । सरकारले यहाँ भएका बिभिन्न अफ्ठेरा सडकहरु र पुलहरुलाई छिटो निर्माण सम्पन्न गरेर सहज यात्रा गराउनका लागि करोडौं रकम खर्च पनि गरेको छ । खर्च गरेका रकममध्ये कतिपय कामहरु सम्पन्न भएर गुणस्तरिय भएका छैनन् भने कतिपय कामहरु ठेकेदार कम्पनीको लापरवाहीका कारण सम्पन्न हुन सकेका छैनन् ।

कर्णाली राजमार्ग अन्तर्गतका दैलेखदेखि जुम्लासम्मका विभिन्न नदी तथा खोलामा निर्माण गर्नुपर्ने १५ मध्ये १४ पुल अधुरै रहेका छन्  । वर्षेनी बाढीले ति पुलहरुमा क्षति पु¥याउँदै आएको छ । एक दशकदेखि राजमार्गका पुल बन्न नसकेका हुन् । विश्व बैंकको सहयोगमा १४ पुल निर्माणका लागि ठेक्का दिइएको थियो भने एउटा पुल सडक डिभिजन कार्यालयले लगानी गरेको थियो । सबै पुलको निर्माण अवधि सकिन लागेको छ । निर्माण सम्पन्न गर्नुपर्ने समय तीन महिना मात्रै बाँकी रहेको सडक डिभिजन कार्यालय, सुर्खेतले जनाएको छ ।

दैलेखको किट्टु भिर नजिकको ४ करोड ५१ लाख लागतको घट्टे खोला पुल निर्माणको लागि २०६९ सालमा सम्झौता भए पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन । १५ महिना भित्र काम सक्ने भन्दै याकथुमहाञ्जर गोल्डेन जेभी काठमाण्डौंले जिम्मा लिएको थियो । अहिलेसम्म १० प्रतिशत पनि काम नभएको र उल्टै सडक बिग्रेर यात्रु मर्कामा परेको स्थानीय प्रमोद पुलामीले गुनासो गरे । “राज्यको पोलिसी के हो थाहा भएन धेरै बर्षदेखि पुल निर्माण थालिएको छ दुई/दुई वटा ठेकेदारहरु आए काम गरे जस्तो गरे अहिले सम्म १० प्रतिशत पनि काम भएको छैन” पुलामीले भने ।

दैलेख खण्डमा पर्ने गोठखोला र कुमाले खोलामा ४ करोड बढी लागतमा पुल निर्माणको जिम्मा लिएको बिटी धर्मेन्द्र १४ जेभीले कामै सम्पन्न नगरेर बदमासी गरेपछि सडक डिभिजन सुर्खेतले कालो सूचिमा राखिसकेको छ । गोठखोला र कुमाले खोलामा नयाँ ठेकेदार कम्पनीले काम सुरु गरिरहेको बताईएको छ । अहिले विश्व बैंकको टोलीले पुल निर्माण स्थलको अनुगमन गरेपछि सडक डिभिजन कार्यालय र निर्माण कम्पनी दबाबमा परेका छन् । निर्माणको कामलाई तीव्रता दिएको सडक डिभिजन कार्यालयले जनाएको छ । काम नगर्ने निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अघि बढाइने सडक डिभिजन कार्यालय, सुर्खेतका प्रमुख गुरु अधिकारीले बताउनुभयो । आफुहरुले अनुगमनसँगसँगै काम नगर्ने कम्पनीहरुलाई पत्राचार, सुचना प्रकाशन जस्ता कामहरु गरिरहेको डिभिजन प्रमुख अधिकारीले बताउनुभयो ।

दैलेख खण्डको जाक्सि खोलामा ढलान गर्न मात्र बाँकी राखिएको पुलका सरियामा खिया लागि सकेको छ । पुल निर्माणको जिम्मा लिएको सिरुवार सुनकोशी र कबिर जेभीले कामको ठेक्का लिएको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेख खण्डमा पर्ने पाँच भन्दा बढी पक्कि पुलहरुमा राखिएका सरियाहरुमा खिया लागिसकेको छ । नत सम्बन्धित  निकायले चासो दिएका छन् नत ठेकेदार कम्पनीहरुले निर्माण पुरा गरेका छन् ।

बिगत पाँच बर्ष देखि राजमार्गमा यात्रा गरिरहका आठविस नगरपालिका दैलेखका नैनबहादुर शाहीले पुल अड्याउने फलामका रडहरुमा खिया लागि सकेको बताउँदै सम्वन्धित निकायहरुले देखाएको मौनता प्रति प्रश्न गर्दै तत्काल काम ठग्ने ठेकेदारहरुलाई कालो सुचिमा राख्ने र लाइसेन्स खारेज गर्नुपर्ने कामको थालनी सरकारले गर्नुपर्ने बताउनुभयो । शाहीले सरकारले योजना निर्माणको जिम्मा दिएपछि त्यसको अनुगमन, गुणस्तर मापन, कार्यविधि अनुसार सार्वजनिक सुनुवाई, सार्वजनीक लेखा परिक्षण, जनश्रमदान, लगायतका कुराहरुमा सुरुवातदेखि चासो नदेखाउने गरेकोले ठेकेदारहरुले सरकारलाई झुक्याउने गरेको बताउनुभयो ।

दैलेख, कालिकोट र जुम्ला खण्डमा पक्कि पुल निर्माणको जिम्मा लिएका बिभिन्न दर्जन वढि कम्पनीहरु भागेका छन् । कतिले काम भन्दा धेरै रकम फर्जी बिलका आधारमा असुल गरिसकेका छन् । ठेकेदार कम्पनीले काम गरे नगरेको नियमन गर्ने निकायको रुपमा रहेको सडक डिभिजन कार्यालय सुर्खेतले कामको गुणस्तर भए नभएको अनुगमन गर्न खट्ने प्राविधिकहरुको लापरवाहीका कारण पनि पुल निर्माणमा ढिलाई भएको आठविस नगरपालिका दैलेखका अर्का स्थानी वासिन्दा अर्जुन शाहीको आरोप छ ।

कम्पनी फरार
दैलेख, कालिकोट हुँदै जुम्लासम्म जोड्ने कर्णाली राजमार्ग अन्तर्गतरहेका घट्टेखोला, कालेखोला, टाकुल्ला खोला, छिडेना खोला, खल्लागाड, बालीगढ, सिम्ला खोलाको पुल निर्माणको जिम्मा लिएका ठेकेदारहरु फरार रहेको सडक भिभाग सुर्खेतले जानकारी दिएको छ । आफुहरुले बारम्बार निर्माणको जिम्मेवारी लिएका ठेकेदार कम्पनीहरुलाई ताकेता गर्दा पनि वास्ता नगरेपछि निर्माणको जिम्मा लिएका कम्पनीहरुलाई पत्राचार गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । वालीघाट, सिम्ले, छेदना खोला, घट्टेखोला, कर्णाली पुललगायतको आफ्नो जिम्मेवारी रहेका ठेकेदार कम्पनीहरुलाई पत्र काटेको डिभिजन कार्यालय जुम्लाले बताएको छ ।

कालो सूचिमा राख्न ढिलाई
काम नगरेका कम्पनीहरुको पत्रपत्रिकामासमेत नाम निकाली सकिएको छ । आफुहरुको क्षेत्रबाट गर्ने जती सबै  कामहरु गरिसकेको भएपनि कतिपय ठेकेदार कम्पनीहरुले पहुँचको भरमा अटेर गर्ने गरेको डिभिजनका कर्मचारी बताउँछन् । घट्टेखोलामा पहिला कन्सल्टेन्टले बनाएको नक्सा फरक परेपछि निर्माण कार्यमा समस्या आएको कम्पनीले जानकारी दिएको छ ।

कर्णाली राजमार्गमा सहज यात्राका लागि भन्दै २०६८ सालदेखि सुरु भएका दैलेख, कालिकोट र जुम्ला खण्डका बभिन्न पुलहरुमा करोडौं खर्चेर बनाईएको कतिपय पुलहरुमा दिगोपना देखिएको छैन भने कतिपय पुलहरुमा ठेकेदारले लापरवाही गरेका कारण सडक बिभागले कालो सुचिमा नाम चढाएको छ । करोडौं रकमका पुलहरुको अवस्था अलपत्र रहेको छ । बिश्व बैकले कर्णाली राजमार्गको यात्रा सहजताका लागि साना ठूला पुलहरु गरेर ७६ करोडको ठेक्का खोलेको सुर्खेत सडक डिभिजनले जानकारी दिएको छ । काम नगरेका कम्पनीहरुवाट रकम असुलिका अहिले सम्म पनि पहल थालिएको छैन् ।

कतिलाई भयो कारवाही
सुर्खेत सडक डिभिजन कार्यालयले दिएको जानकारी अनुसार कुमाले खोला र गोठखोलामा कामको जिम्मा लिएका दुइ वटा कम्पनीहरु कालो सुचिमा परेका छन् । कालिकोटको टाकुल्ला खोलामा कामको जिम्मा लिएको जागृति तुल्सी दुर्गा जे.भि.ले २०६८ सालमा लिएको जिम्मा पुरा गर्न नसकेका कारण अहिले कालो सूचिमा सिफारिस गरिएको छ । ३५ लाख पेश्कि लिएको भएपनि २६ लाखको काम गरेको रकम भुक्तानी भएको र बाँकी ९ लाख असुलीका लागि पत्राचार गरिएको छ ।

सात वर्षदेखि सरिया मात्रै
कर्णाली राजमार्ग अन्तर्गत दैलेख खण्डको राकम कर्णालीनजिक पर्ने जाक्सीखोलाको पुल अलपत्र छ । सात वर्षदेखि सरिया मात्रै ठड्याइएका छन् । गत वर्ष ढलान गरिएको थियो । तर, पूरा हुन सकेको छैन् । त्यस्तै, दैलेखको डुंगेश्वर गाउँपालिकामा पर्ने पक्की पुलको बीचको भाग ढलान भएको छ । तर, असारमा आएको बाढीले पुलको एउटा किनारमा क्षति पु¥याएको थियो । पुल सडकभन्दा होचो बनेको छ । सडक डिभिजन कार्यालय र निर्माण कम्पनीको लापरबाहीले सडकभन्दा होचो भएको स्थानीय बासिन्दाको भनाइ छ । उनीहरूले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button