तपाईँ सुन्दै हुनुहुन्छः

फलफुल तथा तरकारी प्रवद्धनको लागि शीत भण्डार

दोलखा / तीन नम्बर प्रदेश सरकारको आर्थिक सहयोगमा दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोच र जिरी नगरपालिकामा शीत भण्डार निर्माणको काम सुरु भएको छ ।

भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचमा निर्माण हुन लागेको दुई सय मेट्रिक टन क्षमताको शीत भण्डारको सिलान्यास प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले गर्नु भएको छ । सिलान्यासको क्रममा मन्त्री दावादोर्जे लामाले कृषकहरुले उत्पादन गर्ने फलफुल तथा तरकारीहरु शीत भण्डारको अभावमा खेर जाने समस्या बढ्दै गएकोले प्रदेश सरकारले शीत भण्डार निर्माणलाई प्राथामीकता दिएको बताउनुभयो ।

नेपाल कृषि प्रदान देश भएकोले कृषकहरुलाई यो पेशामा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्नु प्रदेश तथा संघिय सरकारको दायित्व रहेको उल्लेख गर्नुहुदै मन्त्री लामाले तीन नम्बर प्रदेशमा यो आर्थिक बर्षमा शीत भण्डारलाई प्राथामीकताका साथ सुरु गरिएको बताउनुभयो ।

बोचमा निर्माण हुने शीत भण्डारको लागि चार करोड २२ लाख रुपैया खर्च हुने प्रदेश सरकारले जनाएको छ । दुई सय मेट्रिक टन क्षमताको शीत भण्डार निर्माणको लागि आवश्यक पर्ने रकममा ७० प्रतिशत प्रदेश ३ सरकारले उपलब्ध गराउने र बाँकी ३० प्रतिशत रकम भीमेश्वर नगरपालिका तथा तिलोत्तमा हिमाली फूड प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिले उपलब्ध गराउने रिसर्च सेन्टर प्रालिको व्यवस्थापक तथा सञ्चालक सदस्य उषा थापाले बताउनुभयो ।

किवि फल, आलुको उत्पादन, पर्वतीय क्षेत्रमा उत्पादन हुने खाद्यान्न वस्तु संकलन, प्रशोधन र बजारीकरण, बिभिन्न तरकारी, फलफुल, कन्दमुल, च्याउ, रेन्वो ट्राउट माछा लगायतको उत्पादन, प्रशोधन, भण्डारन र बिक्रि वितरण गर्ने उदेश्यले स्थापना गरिएको तिलोत्तमा हिमाली फूड प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिले अहिले किवि फलको व्यवसायीक उत्पादन सुरु गरेको र बोचमा निर्माण हुने शीत भण्डारले रिर्सच सेन्टर र आसपासका कृषकहरुलाई राम्रो फाईदा पुग्न सक्ने भएकोले रिर्सच सेन्टरले समेत लगानी गरेको रिर्सच सेन्टरको संस्थापक अध्यक्ष रत्न कार्कीले बताउनु भयो ।

दोलखा जिल्लामा विशेषगरी आलुको राम्रो उत्पादन हुने र भण्डारनको समस्याले आलुको बिक्रिमै समस्या देखिएकोले यो आर्थिक बर्षमा प्रदेश सरकारले दोलखाको बोच र जिरीमा शीत भण्डार निर्माण सुरु गरेको तीन नम्बर प्रदेश सरकारको कृषि परामर्शदाता लालकुमार केसीले बताउनु भयो । दोलखामा नयाँ फल किविको उत्पादन समेत राम्रो भएकोले शीत भण्डारको निर्माणले किवि खेती गर्ने किसानहरुलाई समेत फाईदा पुग्ने केसी बताउनु हुन्छ ।

तीन नम्बर प्रदेश सरकारले जिरीमा पाँच करोड ३८ लाख रुपैया लागतमा पाँच सय मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण गर्न लागेको जनाएको छ । प्रदेश सरकारले यो आर्थिक बर्षमा दोलखा, सिन्धुपाल्चोक, मकवानपुर र सिन्धुली जिल्लाको ११ स्थानमा ४५ करोड रुपैया खर्च गरेर शीत भण्डार निर्माण गर्न लागेको तीन नम्बर प्रदेश सरकारको कृषि परामर्शदाता लालकुमार केसीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button