तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् प्राधिकरणद्वारा मातहतका निकायसँग कार्यसम्पादन करार सम्झौता

काठमाडौं । सेवा प्रवाहमा गुणात्मक सुधार ल्याई सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले मातहतका निकायसँग कार्यसम्पादन करार सम्झौता गरेको छ ।

विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न शुरु गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले शुक्रबार प्रदेश नं १ को प्रादेशिक कार्यालय विराटनगर अन्तरगतका २४ वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डेले कार्यसम्पादन सम्झौता गरेका गर्नुभएको छ । वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखहरूले सम्झौता गर्नुभएको छ ।

प्राधिकरणले आफ्ना सात प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय र त्यसअन्तर्गत प्रत्येक वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्ने तयारी गरिएको छ ।

कार्यसम्पादन सम्झौतामा विद्युत् चुहावट नियन्त्रणलाई उच्च प्राथमितामा राखी यसको अङ्कभार ५० राखिएको छ । कार्यसम्पादनमा राखिएका सूचकको वस्तुनिष्ठ मूल्याङ्कन गरी शाखा प्रमुखलाई पुरस्कार र दण्ड दिने व्यवस्था गरिएको छ ।

प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०७६–७७ मा वितरणतर्फको विद्युत् चुहावट ८.५० प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

प्राधिकरणले गत आर्थिक वर्ष २०७५–७६ मा वितरणतर्फको ११.२८ प्रतिशतको चुहावटलाई २.७८ प्रतिशत विन्दुले घटाएर ८.५० प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button