तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सिन्धुपाल्चोकको स्थानीय कमिटीले पायो पुर्णता

मेलम्ची । नेकपा सिन्धुपाल्चोकले १२ स्थानीय तहको कमिटीलाई पुर्णता दिएको छ । स्थानीय तहको कमिटीले पुर्णता पाएसँगै शनिबार जिल्लाभर एक हजार बढीले नेकपाको नीति विचार र सिद्धान्तप्रति बफादार रहेको भन्दै नेकपाका केन्द्रीय नेताहरुबाट सपथ खाएका छन् ।

सिन्धुपाल्चोकका १२ स्थानीय तहमा शनिबार एकैपटक पालिका स्तरका कमिटीका सदस्यहरुलाई सपथ खुवाइएको थियो । सिन्धुपाल्चोकमा १२ स्थानीय तहमध्ये तिन नगरपालिका रनौ गाउँपालिका रहेका छन् । नगरपालिकामा ८१ सदस्य र गाउँपालिकामा ७५ सदस्य कमिटी गठन गरिएको नेकपा सिन्धुपाल्चोक प्रचार विभाग प्रमुख यज्ञराज सापकोटाले जानकारी दिए । स्थानीय तहमा सपथ खुवाउन नेकपा पोलिटब्युरो सदस्य अमृत बोहरा गृहगाउँ त्रिपुरासुन्दरी पुगेका थिए भने अर्का पोलिटब्युरो सदस्य अग्नी सापकोटा बाह्रविसे नगरपालिकामा गएका थिए ।

त्यस्तै केन्द्रीय सदस्य एवम सासंद शेरबहादुर तामाङ मेलम्ची नगर कमिटीको सपथ खुवाउने कार्यक्रममा सहभागी भएका थिए । नेकपाका अन्य केन्द्रीय सदस्यहरु पनि विभिन्न स्थानीय तह कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । पालिका स्तरीय कमिटी गठनसँगै अब तिहार अघि नै वडा कमिटीसमेत गठन हुने नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले जानकारी दिए । ‘१०३ वडा मध्ये धेरै वडाहरुमा कमिटी गठन भइसकेका छन् अब बाँकी केही वडाहरुमा तिहार अघि नै सक्छौँ’, अध्यक्ष नेपालले भन्नुभयो ।

पालिका र वडा कमिटीको सबै काम सम्पन्न भएपछि जनवर्गीय संगठनको कमिटी पनि बिस्तार हुने नेकपा सिन्धुपाल्चोकले जानकारी दिएको छ । पार्टी एकता भएको लामो समयपछि सिन्धुपाल्चोकमा पालिका स्तरीय कमिटीले पुर्णता समेत पाएको छ । अब संगठन सुदृढीकरण अभियान लिएर सबै पालिकाहरुमा जाने योजना रहेको नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button