तपाईँ सुन्दै हुनुहुन्छः

जिरी जस्तो जुरीच– पर्यटन मन्त्री भट्टराई

जिरी, दोलखा ।  धेरैले दोलखाको जिरीलाई स्वीटरजरल्याण्डको जुरीच सहर जस्तो भन्छन् । प्राकृतिक भू– वनोट जिरीको र जुरीचको मिल्दो जुल्दो रहेकोले पनि जिरीलाई जुरीच जस्तो भनिएको हो ।

शुक्रवार जिरी स्टेट फुड फेस्टिबल तथा खेलकुद महोत्सव २०७६ को उद्घाटन गर्न जिरी पुग्नु भएका पर्यटन मन्त्री योगेश भट्टराईले भने जिरी स्वीटरजरल्याण्डको जुरीच जस्तो नभै जुरीच चाँही जिरी जस्तो रहेको बताउनु भयो । जुरीच सहर पछि बनेको हो तर हाम्रो जिरी धेरै पुरानो हो, यहाँको संस्कार संस्कृति धेरै पुरानो छ मन्त्री भट्टराईले भन्नु भयो – त्यसैले जुरीच चाँही जिरी जस्तो छ ।

पर्यटन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन प्रवद्धनको लागि बाह्रय भन्दा पनि आन्तरीक पर्यटक महत्वपूर्ण हुने बताउनु भयो । स्थानिय उत्पादनको प्रवद्धन गर्दै आन्तरीक पर्यटकलाई आकर्षित गर्न सकियो भने नेपालमा पर्यटन विकास र आर्थिक उन्नती गर्न सकिने बताउनु भयो । उहाँले दोलखाका मानिस ताप्लेजुङको पाथीभरा पुग्ने र ताप्लेजुङका मानिस दोलखाको कालिञ्चोक, जिरी पुग्न सके पर्यटन प्रवद्धनमा महत्वपूर्ण टेवा पुग्न सक्ने बताउनु भयो । मन्त्री भट्टराईले विदेशमा जानु अघि देशकै सबै पर्यटकीय स्थल घुम्नु पर्ने पनि बताउनु भएको छ ।

पर्यटन मन्त्री भट्टराईले विगतमा स्थानिय तहमा २० लाख पुग्दा त्यो भन्दा धेरै विकास हुने गरेको तर अहिले करोडौ बजेट स्थानिय तहमा पुग्दा पनि २० लाखको जति पनि विकास हुन नसकेको गुनासो गर्नु भयो । मन्त्री भट्टराईले विगतमा सरकारको पैसा दुरुपयोग गर्नुहुदैन भन्ने सोच रहने गरेको तर अहिले सरकारको पैसाको सदुपयोग गर्नुहुदैन भन्ने सोच विकास भएको उल्लेख गर्नुहुदै विकासको लागि जनप्रतिनिधिहरु सचेत बन्नु पर्ने बताउनु भयो ।

भिजिट २०/२० को पूर्व सन्ध्यामा युवा सञ्जाल जिरीले आयोजना गरेको जिरी स्टेट फुड फेस्टिबल तथा खेलकुद महोत्सव २०७६ को अवसरमा बिभिन्न सांस्कृतिक प्रर्दशन, जिरेलहरुको विशेष खाना पोल्दोक लगायत बिभिन्न प्रकारका खानाका परिकारहरु, भलिबल प्रतियोगीता समावेश गरिएको युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्र ज्योती खड्काले बताउनु भयो । जिरी स्टेट फुड फेस्टिबल तथा खेलकुद महोत्सव २०७६ को अवसरमा जिरी पुग्ने पर्यटकहरुले जिरी भित्रका पर्यटकीय गन्तव्यहरु जिरेश्वर मन्दिर, हलेश्वर मन्दिर, ढुगेश्वरी मन्दिर, पाँचपोखरी, जटापोखरी, राम्बोले देबी, जिरी वजार, ठुलोनागी, हनुमन्ते ,सिक्री गाँउ, लावती झरना,चेर्दुग डाडा, चेर्दुग चिज उत्पादन केन्द्र, चेन्चो डाडा, बुद्धपार्क, कालोभिर, जिरी चियावगान, रमिते डाँडा आदि ठाँउमा घुम्न सक्ने आयोजकले जनाएको छ ।

युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योती खड्काको अध्यक्षतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा पुर्व राज्यमन्त्री तथा नेकपा दोलखाका इन्चार्ज देवी खड्का, नेपाली कांग्रेसका नगरसभापति सोनाम शेर्पा, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सामुदायीक रेडियो प्रशारक संघका केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्का, पत्रकार गौतम जिरेल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा २० हजार स्वदेशी तथा विदेशी पर्यटकले सहभागिता जनाउने र १० लाख भन्दा बढीको स्थानिय उत्पादनको कारोवार हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button