तपाईँ सुन्दै हुनुहुन्छः

बाख्रा विज्ञको एशियाली सम्मेलन चितवनमा

चितवन । आउँदो आइतवारवाट यहाँ शुरु हुने एशिया क्षेत्रीय बाख्रा विज्ञहरुको सम्मेलनको तयारी पूरा भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा चार दिनसम्म सो सम्मेलन हुनेछ ।

विभिन्न संस्थाको सहयोगमा कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय रामपुर चितवनको मूल आयोजनामा सम्मेलन हुन लागेको हो ।

मूल आयोजक समितिका अध्यक्ष प्राडा शारदा थपलियाका अनुसार ‘विकासशील विश्वमा खाद्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन’ भन्ने मूल नारासाथ हुने सम्मेलनमा १७ देशका बाख्रा अनुसन्धान र विकासमा विशिष्ट योगदान पु¥याएका वैज्ञानिक, अनुसन्धानदाता, उद्यमी र विद्यार्थीको सहभागिता रहने छ । सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, क्यूबा, संयुक्त राज्य अमेरिका, क्यानाडा, इटाली, जापान, हङ्गेरी, चीन, इन्डोनेसिया, बङ्गलादेश, फ्रान्स, केन्या, दक्षिण अफ्रीका, अष्ट्रेलिया र स्पेनका प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

सम्मेलनमा खाद्य तथा पोषणको स्रोत, बाख्रा उत्पादनका नीति, सामाजिक आर्थिक तथा मूल्य शृङ्खला विकास, बाख्राको आहारा, पोषण तथा बासस्थान व्यवस्थापन, आनुवंशिकी, प्रजनन तथा जैविक प्रविधि व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण, बाख्राजन्य उत्पादनको प्रशोधन, प्रविधि विकाससम्बन्धी विधालाई समेटेर तीन वटा विशेषज्ञ कार्यपत्र, ११ वटा आमन्त्रितसहित ११६ भन्दा बढी वैज्ञानिकका कार्यपत्र प्रस्तुत हुनेछ ।

त्यसबाहेक बाख्रापालन व्यवसायको विश्वब्यापी चुनौतीको रुपमा रहेको पीपीआर रोग र त्यसको नियन्त्रण, बाख्रापालन र भ्याक्सिन व्यवसायमा महिला सहभागिता जस्ता विभिन्न समसामयिक विषयमा विज्ञहरुबीच सामूहीक छलफल हुने मूल आयोजक समितिका सदस्य सचिव डा निराजन भट्टराईले जानकारी दिनुभयो ।

सम्मेलनले बाख्रापालन जस्तो महत्वपूर्ण क्षेत्रमा यसको उत्पादन, उत्पादकत्व एवं गुणस्तर वृद्धिका लागि विविध प्रविधियुक्त आधुनिक खोजमूलक जानकारीको सम्प्रेषण गर्ने उद्देश्य लिएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा यस क्षेत्रमा कार्यरत वैज्ञानिक, अनुसन्धान निकाय, विश्वविद्यालय, सरकारी र गैह्र सरकारी सङ्घसंस्थाका बीचमा बृहत् सञ्जाल र सहकार्यको विस्तार गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाई वैज्ञानिक बाख्रापालनको नमूना राष्ट्रिय अनुसन्धान तथा स्रोत केन्द्र बनाउने दिर्घकालीन उद्देश्य सम्मेलनको भएको भट्टराईको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button