तपाईँ सुन्दै हुनुहुन्छः

डब्लुसिएलमा चितवनको दोश्रो जित

अजय बम । वुमन्स च्याम्पियन्स लिगमा चितवनले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा चितवनले ललितपुर फाल्कोन्सलाई ८९ रनले हरायो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर १३५ रन बनायो । चितवनका लागि ऋतु कनोजियाले ५८ रनको अर्धशतकीय पारी खेलिन । यस्तै प्रिया चौधरीले अविजित २२ रन जोडिन् ।

त्यस्तै काजोल श्रेष्ठले १५ तथा इन्दु बर्माले १० रन जोडिन् । ललितपुरकी नेरी थापाले २ विकेट लिईन् ।

जवाफमा ललितपुर फाल्कोन्स १६ ओभर दुई बलमा अलआउट भयो । उसका एक खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

जसमा कप्तान नेरी थापाले सर्वाधिक १७ रन बनाउँदा बाँकी खेलाडी एकपछि अर्को रुपमा आउट भए ।

ललितपुर ५६ रनमा अलआउट भयो । ललितपुरलाई कम स्कोरमा रोक्न कबिता गौतमले तीन विकेट लिइन ।

चितवनको लगातार दोस्रो जित हो । यता ललितपुरको लगातार दोस्रो हार हो ।

अर्को खेलमा विराटनगर टाइटन्सले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा विराटनगरले पोखरा पल्टनलाई ६ विकेटले हरायो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर ९४ रन बनायो । जवाफमा विराटनगरले १५ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

यो जितले विराटनगरले दुई खेलमा चार अंक बनाएको छ भने पोखराको लगातार दोस्रो हार हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button