तपाईँ सुन्दै हुनुहुन्छः

विपद् व्यवस्थापन न्यूनीकरणमा तीनै तहको सरकारको उत्तिकै जिम्मेवारी : गृहमन्त्री थापा  

काठमाडौँ –  गृहमन्त्री रामबहादुर थापाले विपद् न्यूनीकरणका लागि तीनै तहका सरकारको उत्तिकै भूमिका रहेको बताउनुभएको छ । नेपाल भौगर्भिक समाजले आज यहाँ आयोजना गरेको ‘विपद् न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवस–२०७६ कार्यशाला गोष्ठी’मा उहाँले नेपाल विपद्को उच्च जोखिमको क्षेत्र भएकाले यसलाई न्यूनीकरण गर्न तीनै तहको सरकारको भूमिका रहेको बताउनुभएको हो ।

“विपद् न्यूनीकरणका लागि सरकारी तवरबाट कानूनी र नीतिगत व्यवस्था गरिएको छ, अब आउने विपद् न्यूनीकरण गर्न क्षमता र कौशलको विकास गर्नु जरुरी छ”, उहाँले भन्नुभयो । बढ्दो विश्व तापमानका कारण हिमालमा ह्रास आउनेक्रम बढेको उहाँको भनाइ थियो ।

गृहमन्त्री थापाले विपद्का कारण हुने क्षतिलाई न्यूनीकरण गर्न बलियो संरचना निर्माणमा ध्यान दिनु जरुरी रहेको उल्लेख गर्नुभयो । विपद्को सामना गर्न सरकारी, गैरसरकारी निकाय एकताबद्ध हुनु जरुरी रहेको उहाँको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित स्थानमा भौतिक संरचनामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले २०७२ पछिको भूकम्पपछिको पुनःनिर्माण तीव्र गतिमा भइरहेको उल्लेख गर्नुभयो ।

युएनडिपीका सहायक आवासीय प्रतिनिधि विजय सिंहले दिगो विकासको लक्ष्यलाई पूरा गर्न विपद् न्यूनीकरणमा प्राथमिकता दिनुपर्ने बताउनुभयो । खानी तथा भू–गर्भ विभागका महानिर्देशक डा सोमनाथ सापकोटाले विपद् व्यवस्थापन न्यूनीकरणलाई संविधानमै उल्लेख गरेकाले यसलाई कम गर्नका लागि सबै क्षेत्र लाग्नुपर्ने बताउनुभयो ।

सन् १९८९ देखि राष्ट्रसङ्घीय महासभाले विश्वमा विपद् सचेतनाको संस्कार बसाउन र विपद् न्यूनीकरण प्रवद्र्धन गर्न दिवस मनाउने निर्णयअनुसार नेपालमा पनि अक्टोबर १३ तारिखमा उक्त दिवस मनाउन शुरु गरिएको हो ।

नेपाल भौगर्भिक समाजका अध्यक्ष रामप्रसाद घिमिरेले विपद् व्यवस्थापन न्यूनीकरणसम्बन्धी सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । नेपालमा दुई वर्षको अवधिमा छ हजार ३८१ साना ठूला विपद्का घटना घटेको अध्यक्ष घिमिरेले बताउनुभयो । सोही अवसरमा गृहमन्त्री थापाले नेपालमा विपद् व्यवस्थापनसम्बन्धी पुस्तक सार्वजनिक गर्नुभएको थियो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button