तपाईँ सुन्दै हुनुहुन्छः

कागज बोकेको ट्रकमा तस्करीको कपडा बरामद

बीरगंज – बीरगंज भन्सार नाकाहुदै  फोटोकपी कागज बोकेर काठमाडौँ जादैँ गरेको ट्रकबाट राजस्व अनुसन्धान इकाई कार्यालय पथलैयाले तस्करी गरी ल्याइएका कपडा बरामद गरेको छ ।

भारतबाट राजस्व छलि गरी उक्त कपडा ल्याउने व्यवसायीलाई राजस्व कार्यालय पथलैयाले पक्राउ पुर्जी’ जारी गरेको छ  । राजस्व अनुसन्धानका प्रमुख राजनकुमार बिसीले अनुसन्धान प्रभावित हुने हुँदा पक्राउ पूर्जी जारी गरिएका व्यक्तिको नाम खुलाउन नचाहेको बताउनुभयो ।

गत भदौ ११ गते सशस्त्र प्रहरीले बीरगन्जबाट गएको भारतीय नम्बरको ओ आर एक्स २१९६ नम्बरको ट्रकलाई तस्करीको सामान रहेको आशंकामा नियन्त्रणमा लिई आन्तरिक राजस्व कार्यालय पथलैयामा बुझाएको थियो ।

उक्त ट्रकबाट फोटोकपी पेपरभित्र लुकाएर राखिएको अवस्थामा २ दर्जन कपडाका बन्डल बरामद गरिएको थियो । बरामद भएका कपडामा सुटिङ, सुटिङ्ग टप्स, सारी लगायतका थान कपडा तथा रेडिमेट पिस रहेको प्रमुख बिसीले बताउनुभयो । इन्टरनेसनल ट्रेडिङ हाउस काठमाडौं आयातकर्ता रहेको फोटोकपी पेपर बोकेको ट्रक वीरगन्ज भन्सारबाट नन्दकिशोर मल्ल मुख्य एजेन्ट रहेको बत्सल क्लियरिंग एन्ड फरवार्डिंग एजेन्सीले जाँचपास गराएको थियो ।
भन्सार एजेन्ट मल्लले जाँचपास गराउने मालवस्तुलाई भन्सार विभागको ‘एल्लो च्यानल’ को सुविधा दिएको छ । यो च्यानलमा रहेका भन्सार एजेन्टले भन्सार कार्यालयमा बुझाउने आयातको डकुमेन्टको भरमा भन्सार कार्यालयले मालवस्तु जाँचपास गर्ने गर्दछ ।

भारतीय ट्रान्सपोर्ट एजेन्ट राकेशकुमार श्रीवास्तवले कपडा तस्करीमा प्रयोग भएको ट्रक कागज आयात उद्देश्यले उपलब्ध गराएको देखिन्छ  । ट्रक धनी भारतीय नागरिक सन्जय सिंह पक्राउ परेको कार्यालय प्रमुख राजन कुमार बिसीले बताउनुभयो ।

घटनाको बारेमा अनुसन्धान जारी रहेको बिसीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button