तपाईँ सुन्दै हुनुहुन्छः

उत्तरी सिरियाको आक्रमणबारे राष्ट्रसंघको चासो   

संयुक्त राष्ट्रसंघ  –  सिरियाली कुर्द लडाकूहरुबिरुद्ध टर्कीले केही दिनयता घातक आक्रमणलाई निरन्तरता दिएसँगै त्यसबाट उत्पन्न परिस्थितिप्रति संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ ।  यद्यपि यी घातक हमलाहरुको अन्त्य गर्न मागगर्दै संयुक्त राज्य अमेरिकाले गत मङ्गलबार टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाएको छ । तर पनि टर्कीले आक्रमण भने रोकेको छैन ।

त्यस आक्रमणप्रति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले चासो व्यक्त गरेको हो । बुधबार बसेको यस परिषदको बैठकमा सिरियाको उत्तरी क्षेत्रमा जारी आक्रमणबाट भएको पछिल्लो अवस्थाको बारेमा आवश्यक छलफल भएको बताइएको छ ।

बुधबारको सो बैठकमा सुरक्षा परषदका सदस्य राष्ट्रहरुबीच आक्रमण रोक्नुपर्ने विषयमा आवश्यक परामर्श र छलफल भएको र त्यस विषयमा सहमति पनि भएको बताइएको छ ।
उक्त बैठकमा भएको छलफलको बारेमा जानकारी दिँदै संयुक्त राष्ट्रसंघका लागि दक्षिण अफ्रिकाका स्थायी प्रतिनिधि जेरी मतजिलाले उक्त आक्रमणबाट मानवीय संकट पैदा भएको भन्दै यसबाट उत्पन्न हुनसक्ने परिस्थितिप्रति गहिरो चासो राखेको बताउनुभयो ।

संयुक्त राज्य अमेरिकी सेना रहेको उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने निर्णयपछि टर्कीले त्यस क्षेत्रमा हवाई र स्थलगत आक्रमण शुरु गरेको थियो । त्यस आक्रमण अहिले पनि जारी नै रहेको बताइएको छ ।

उत्तरपूर्वी सिरियाको यस इलाका खासगरी कुर्दिश लडाकूको नियन्त्रणमा रहेको बताइएको थियो । त्यस क्षेत्रमा घोषित रुपमा नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सहयोग रोकेको बताउनुभएको थियो ।

उहाँको यस कार्यको अन्तर्राष्ट्रिय समुदायले व्यापक मात्रामा विरोध गरेको अर्काे एक समाचारमा जनाइएको छ । यसलाई विश्व समूदायले असाधारण कदम भएको भन्दै आलोचना गरिरहेको छ ।

त्यहाँबाट आइएसलगायतका आतंककारी समूहका व्यक्तिहरु तितरबितर हुने, सिरियाकै अरु भागतिर जानसक्ने खतराप्रति पनि सुरक्षा परिषदको उक्त बैठकमा चासो व्यक्त भएको बताइएको छ ।

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ स्थायी प्रतिनिधि चाङ जुनले यसै पनि द्वन्द्वको चपेटामा परिरहेको सिरियामा टर्कीले आक्रमण गरेर परिस्थितिलाई झनै जटिल बनाइदिएको जानकारी दिनुभयो ।

सो बैठकपछि समाचारदाताहरुलाई जानकारी दिँदै उहाँले सुरक्षा परिषदको सो बैठकमा सिरियाको अवस्थाको बारेमा कुराकानी भएको र युद्ध थप नचर्काउने उपायहरुको बारेमा सुझाव दिने काम भएको बताउनुभयो ।

टर्कीले सिरियामा गरेको सो आक्रमणबाट करिब एक लाख मानिस विस्थापित भएका अनुमान गरिएको छ । टर्कीले तत्कालै युद्धविराम गरेर यहाँको द्वन्द्व समाधान गर्न दीर्घकालीन उपायबारे छलफल गर्नुपर्ने अमेरिकी धारणा रही आएको छ ।

टर्कीको आक्रमणपछि पूर्वी सिरियामा कुर्दिस विद्रोहीसँगको सम्झौतापछि सिरियाली सेना सीमाक्षेत्रमा पुगेको छ । सेनाको प्रवेशपछि टर्की र सिरियाली सेनाबीच सङ्घर्ष हुन सक्ने आशङ्का गरिएको छ ।

अमेरिकाले उत्तरी सिरियामा रहेका करिब एक हजार अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय केही दिनअघि गरेको थियो । अमेरिकाको यही निर्णयको केही दिनपछि नै टर्कीले आक्रमण थालेको समाचारमा जनाइएको छ ।

उता टर्कीले भने सिरियाली भूमिमा आक्रमण गरेर त्यहाँ सुरक्षित इलाका निर्माण गर्न खोजेको प्रतिक्रिया अन्तर्राष्ट्रिय समुदायलाई दिँदै आएको छ । टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानले सो जानकारी दिनुभएको छ ।

राष्ट्रपति एर्डोगानले यो क्षेत्र सिरियाभित्र करिब ३० देखि ३५ किलोमिटरमा मात्र रहेको बताउनुहुन्छ । आक्रमणबाट त्यहाँ ठूलो क्षति नभएको उहाँको भनाई छ ।
मानवअधिकारवादीहरुले टर्कीको आक्रमणबाट आइतबारमात्र कम्तीमा २६ जना सर्वसाधारणको मृत्यु भएको बताएका छन् । साथै हालसम्म टर्कीको कारबाहीबाट ६० जनाभन्दा बढीको मृत्यु भएको पनि अधिकारीहरुको भनाई छ ।
रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button