तपाईँ सुन्दै हुनुहुन्छः

उम्मेदवार सिफारिश गर्न कात्तिक १० सम्मको समय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि कात्तिक १० गते भित्र उपनिर्वाचन हुने सबै स्थानका उम्मेद्वार नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वारको हकमा सम्बन्धित निर्वाचन क्षेत्र स्तरको कमिटी र जिल्ला कमिटीको परामर्शमा प्रदेश कमिटीले तीन जनाको नाम कात्तिक १० गते भित्र सिफारिस गरिसक्नु पर्ने निर्णय गरेको छ ।

जिल्ला र प्रदेश कमिटीबाट सिफारिस भएका उम्मेदवारको अन्तिम निर्णय केन्द्रले गर्ने छ ।

बैठकले स्थानीय तह तथा गाउँ र नगर कमिटीको उम्मेदवारको टुङ्गो लगाउने जिम्मा सम्बन्धित गाउँ नगर र जिल्ला कमिटिको सिफारिसमा प्रदेश कमिटीलाई दिएको बैठक पछी नेकपाका प्रवक्ता नारायणकाजि श्रेष्ठले जानकारी दिनुभयो ।

वडाका उम्मेदवारको हकमा सम्बन्धित वडा र सम्बिन्धत गाउँ वा नगर कमिटिको सिफारिसमा जिल्ला कमिटीले उम्मेद्वार चयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै नेकपा सचिवालय बैठकले पार्टीको संगठन विभागको सदस्य नेताहरु अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई थप गर्ने निर्णय गरेको छ । यसअघि संगठन विभागको प्रमुखमा वामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मालाई तोकेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button