तपाईँ सुन्दै हुनुहुन्छः

जापानमा आँधी प्रभावितलाई सहयोग गर्न लाखौं डलरको बन्दोबस्त   

टोकियो –  जापान सरकारले हागिबिस नाम दिइएको आँधीबाट पुगेको जनधनको क्षतिका लागि दशौं लाख अमेरिकी डलर विनियोजन गरेको जनाएको छ । जापानको इतिहासमा निकै शक्तिशाली मानिएको यस आँधीबाट देशभर कम्तीमा ७४ जनाको मृत्यु भएको थियो ।

हागिबिस आँधी गत शनिबार शुरु भएर देशैभर फैलिएको थियो । तिब्र बेग र वर्षाका कारण जनजीवन तहसनहस भएको थियो । देशका विभिन्न भागमा बाढी, पहिरो आएको थियो ।

बुधबार मध्यसम्ममा आँधीका कारण मृत्यु हुनेको संख्या ७४ पुगेको छ । अझै पनि दर्जनौं मानिस बेपत्ता रहेको खोज तथा उद्धार निकायहरुले जनाएका छन् ।

प्रधानमन्त्री शिन्जो आबेले आँधी प्रभावित क्षेत्रका लागि आपतकालीन कोषबाट खर्च गर्ने गरी तत्काल ६५ लाख अमेरिकी डलर विनियोजन गरिएको जानकारी दिनुभयो । सरकारले आँधी प्रभावित ३०० भन्दा बढी नगरपालिकालाई अनुदानको रुपमा उक्त रकम वितरण गर्न लागेको हो ।

प्रधानमन्त्री आबेले जनजीवन जतिसक्दो चाँडो सामान्य बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नुभउको छ । बुधबार बिहानसम्म १० हजारभन्दा बढी घरपरिवारमा विद्युत सेवा उपलब्ध हुन सकेको छैन भने एक लाख १० हजारभन्दा बढी घरमा खानेपानीको अभाव छ ।

सरकारका प्रवक्ता योशिहिदे सुगाले आँधी प्रभावित इलाकामा खोज तथा उद्धारका कार्यहरुलाई युद्धस्तरमा सञ्चालन गरिरहेको जानकारी दिनुभयो । निकै भारी वर्षा भएका कारण नदीहरुमा पानीको सतह बढेको र देखिएको जमिनमा पनि हिलो जमेको छ, उहाँले बताउनुभयो ।

प्रवक्ता योशिहिदेले स्थानीयबासीलाई पहिरो आउन सक्ने खतराका बारेमा सचेत रहन सूचना गरिएको बताउनुभयो ।  आँधीबाट खासगरी देशको उत्तरपूर्वी भेग नराम्रोसँग प्रभावित भएको छ । फुकुसिमा क्षेत्रमा मात्र २६ जनाको ज्यान गएको थियो ।
रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button