२०७८ साल साउन ९ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानी प्रधानमन्त्री इमरान खान निस्किए साउदी भ्रमणमा

रेडियो नेपाल २०७६ असोज २८ गते १५:३३

इस्लामाबाद । इरानको भ्रमण सम्पन्न गरी पाकिस्तानी प्रधानमन्त्री इमरान खान मंगलबार साउदी अरेबिया जाने भएका छन् । अरब खाडी क्षेत्रमा उत्पन्न सङ्कटका बारेमा छलफल गर्न प्रधानमन्त्री खान इरान र साउदी अरेबियाको भ्रमणमा छन् ।

प्रधानमन्त्री खानले इरानी राष्ट्रपति हसन रौहानीसँग सोमबार राष्ट्रपति कार्यालयमा भेटवार्ता गरेका थिए । जियो न्यूजका अनुसार साउदी अरेबिया र इरानबीच उत्पन्न गतिरोधले क्षेत्रमै असर पार्न थालेको भन्दै प्रधानमन्त्री खानले सम्भावित मध्यस्थताका लागि दुबै देशको भ्रमण गरेका थिए ।

इरानी राष्ट्रपति रौहानीसँगको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री खानले इरान र साउदी अरेबियाबीच कुनै किसिमको द्वन्द्व नहोस् भन्ने पक्षमा पाकिस्तान रहेको बताउँदै द्वन्द्व समाधानका पक्षमा इरानी राष्ट्रपतिसँग रचनात्मक वार्ता भएकामा आफू निकै आशावादी रहेको बताए ।

प्रधानमन्त्री खानले इरानी सर्वोच्च नेता आयातोल्लाह खामेनीसँग पनि भेटवार्ता गरेका थिए । प्रधानमन्त्री खानका साथ विदेशमन्त्री शाह महमूद कुरेसी र प्रधानमन्त्रीका सल्लाहकार सइद जुल्फिकार अब्बास बुखारी पनि रहेका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री खानले साउदी राजकुमार मोहम्मद बिन सल्मानसँग खाडी क्षेत्रमा उत्पन्न गतिरोधका बारेमा छलफल गरेका छन् ।

गत महिना राष्ट्रसंघको ७४औं महासभामा भाग लिन जानेक्रममा पनि प्रधानमन्त्री खानले साउदी अरेबियाको भ्रमण गरी राजकुमार सल्मानसँग भेटवार्ता गरेका थिए ।

सम्बन्धित