तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो चरणमा दैलेखको पेट्रोलियम पदार्थको अन्वेषण हुँदै

दैलेख ।  दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण अन्र्तगत दोस्रो चरणको काम सुरु हुन लागेको छ । नेपाल र चीनबीच भएको सम्झौता अनुसार दोस्रो चरणको काम हुन लागेको हो । यसपटक कुन भागमा कति मात्रामा पेट्रोलियम पदार्थ छ भन्ने निष्कर्ष निकालिने जनाइएको छ । चिनियाँ प्राविधिक टोली दसैँअघि दैलेख आई पुगेको हो ।

टोलीले स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी र स्थानीय बासिन्दासँग छलफल समेत गरेको छ । अब केही दिनमै आवश्यक सामान सहित टोली आउने जनाइएको छ । चिनियाँ टोलीसँग छलफल भएको र अब अन्वेषण थालिने प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताउनुभयो ।

केही दिनभित्रै चिनियाँ टोली आवश्यक सामान सहित दैलेख आउने अन्वेषण परियोजनामा संलग्न गणेशराज त्रिपाठीले बताउनुभयो । अब जिओलोजिकल सर्भे, म्याग्नेट सर्भेलगायतका काम हुने उहाँले बताउनुभयो । जमिनको पाँच किलोमिटर मुनिसम्म ड्रिलिङ गरिनेछ । जसबाट पेट्रोलियम पदार्थको परिणाम पत्ता लगाउन सकिने उहाँले बताउनुभयो ।

गएको असार २६ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थ अन्वेषणको उद्घाटन गर्नुभएको थियो । त्यतिवेला १५ दिन अध्ययन तथा अनुसन्धान गरेर चिनियाँ टोलि फर्किएको थियो । फेरी असोज दोस्रंो साता दैलेख आई पुगेको चिनियाँ टोलीले थप अध्ययन गरेको थियो ।

नेपाल र चीन सरकारबीच सम्झौता भएकाले अन्वेषणको काम परिणाममुखी हुने प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले बताउनुभयो । पेट्रोलियम पदार्थ अन्वेषणका लागि प्राविधिक टोलीलाई सघाउन प्रदेशसभा सदस्य अमरबहादुर थापाले सम्पुर्णमा आग्रह गर्नुभयो । स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा, राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारण मिलेर सहजरूपमा काम गर्ने वातावरण बनाउनुपर्ने प्रदेशसभा सदस्य थापाले वताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button