तपाईँ सुन्दै हुनुहुन्छः

हिमाली जिल्लाको अस्पतालमा आईसियु सेवा

दोलखा। हिमाली जिल्ला दोलखा सदरमुकाम चरिकोटमा रहेको प्रस्तावित चरिकोट अस्पतालमा सघन उपचार कक्ष (आईसियु) निर्माण गरिएको छ ।

सघन उपचार कक्षको अभावमा बिभिन्न खाले जटील उपचारमा समस्या भएपछि भीमेश्वर नगरपालिका मार्फत सांसद विकास कोषको रकमबाट सघन उपचार कक्षको निर्माण गरिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा विनोद दंगालले बताउनु भयो ।

न्याय हेल्थ नेपालको व्यवस्थापनमा सञ्चालित प्रस्थावित चरिकोट अस्पतालमा निर्माण गरिएको सघन उपचार कक्षमा भेन्टिलेटर, मनिटर, बेड, सक्सन मेशिन, बेबी वार्मर मेशिन, अत्याधुनिक अल्ट्रा साउण्ड मेशीन, भिडियो एक्स रे, अत्याधुनिक डिजिटल इसिजि मेशिन, स्वास प्रस्वास सहज बनाउने वाईक्याप मेशिन लगायतका अत्याधुनिक सुविधा रहेको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा दंगालले बताउनु भयो । सघन उपचार कक्ष (आईसियु) मा रहेको चार वटा बेड मध्य एउटा बेड भने बच्चको लागि विशेष सुविधा सहितको हुने अस्पतालले जनाएको छ ।
प्रस्तावित चरिकोट अस्पतालमा सघन उपचार कक्षा (आईसियु) नहुदा संक्रमित बच्चा, श्वास प्रश्वासका विरामी, हर्ट अट्याक्कका विरामीको प्राथामीक उपचार, विषादी खाएका विरामीको उपचारमा समस्या हुने गरेकोमा आईसियुको निर्माण पछि जटिल प्रकृतिका विरामीको उपचारमा सहज हुने अपेक्षा गरिएको डा दंगाल बताउनु हुन्छ । आईसियु निर्माणको काम लगभग सकिएकोले तिहार लगतै सञ्चालन गरिने पनि डा दंगालले बताउनु भयो ।

सघन उपचार कक्षा (आईसियु) को अभावमा प्रसुति सेवा र अन्य बिभिन्न प्रकृतिका रोगको उपचारमा समस्या हुने गरेको गुनासो अस्पतालबाट आएपछि भीमेश्वर नगरपालिकाको समन्वयमा सांसद विकास कोषको ५० लाख र नगरपालिकाको करिब २० लाख गरी ७० लाखको लागतमा सघन उपचार कक्षको निर्माणमा गरिएको नगरप्रमुख भरतबहादु केसीले बताउनु भयो । अस्पतालको थप सुधार र प्रविधिको विकासको लागि नगरपालिकाले आगामी दिनमा समेत सहयोग गर्ने नगरप्रमुख केसीले बताउनु भयो ।

सघन उपचार कक्ष सञ्चालनको लागि मासिक करिब १० लाख अतिरिक्त खर्च लाग्ने अस्पतालले जनाएको छ । सघन उपचार कक्ष निर्माणमा भीमेश्वर नगरपालिकाले सहयोग गरेपनि नियमीत सञ्चालन भने अस्पताललेनै गर्ने भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताउनु भयो । तर सञ्चालनमा समस्या भयो भने नगरपालिकाले समेत सहयोग गर्न सक्ने खड्का बताउनु हुन्छ ।

अस्पतालमा आईसियु नहुदा आर्थिक बर्ष ०७५/०७६ मा चार जना संक्रमित बच्चाको मृत्यु भएको र ४÷५ जना बच्चालाई काठमाडौँ रिफर गर्नु परेको डा दंगाल बताउनु हुन्छ । उपचार सेवा तथा औषधि पूर्ण निशुल्क रहेको प्रस्तावित चरिकोट अस्पतालमा प्रशुतिको लागि आउने कतिपय विरामी आर्थिक अवस्था अत्यन्त कमजोर भएका हुने र उनीहरुलाई काठमाडौँ जान भन्दा पनि नसक्ने अवस्थामा उपचार गर्दा आईसियुकै अभावमा बच्चाको ज्यान जान सक्ने डा दंगाल बताउनु हुन्छ । तर अब आईसियु सञ्चालनमा आएपछि त्यस्तो समस्या नरहने डा दंगालको भनाई छ ।

आईसियुको लागि तालिम प्राप्त नर्सको आवश्यकता हुने भएकोले धुलिखेल अस्पतालसंग समन्वय गरेर अस्पतालका केहि नर्सलाई तालिमको लागि पठाउने तयारी भै रहेको र तत्कालको लागि आफु र अस्पतालका अर्का एमडिजिपी डाक्टर तुलाकृष्ण गुप्ताले सघन उपचार कक्षमा सेवा दिने डा दंगाल बताउनु हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button