तपाईँ सुन्दै हुनुहुन्छः

गढीमाई मन्दिरको विकास र सम्बद्र्धनका लागि  तिनै तहका सरकार जुट्नुपर्छ : मुख्यमन्त्री राउत

बीरगंज – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले अन्तर्राष्ट्रिय रुपमै ख्याती प्राप्त गढीमाई मन्दिरको विकास र सम्बद्र्धनका लागि तिनै तहका सरकार जुटनु पर्ने कुरामा जोड दिनुभएको छ ।

गढीमाई मन्दिर सञ्चालक तथा विकास समितिको पाँचौ साधारण सभाको उद्घाटन गर्दै प्रदेश नम्बर २ मा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको र धार्मिक स्थलहरुको संरक्षण उन्नति र विकासका लागि स्थानिय जनता समेत जागरुक हुनु पर्ने बताउनुभयो ।

उहाँले गढीमाईको पञ्चबर्षिय मेलाको विषयलाई लिएर स्थानिय तहमा विवाद देखिनु राम्रो विषय नभएको बताउदै गढीमाई वाराको मात्र नभई पुरै देशको धार्मिक धरोहरको रुपमा स्थापित भई सकेको बताउनुभयो । उहाँले यसबर्ष मंसिर महिनामा लाग्ने मेलालाई भव्य र सभ्य बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै मेलाको विषयमा अनावश्यक किचलो नगर्न नगरपालिका र स्थानिय वासिन्दालाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री राउतले २ नम्बर प्रदेशको समृद्धि र विकासका लागि प्रदेश सरकारले कृषि, उद्योग र पर्यटनलाई प्रार्थमिकतामा राखेको बताउदै जनकपुरको जानकी मन्दिर जस्तै अन्तर्राष्ट्रिय स्तरमै वाराको गढीमाई मन्दिरको स्तर उन्नति गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले गढीमाईको वृहत्तर विकासका लागि प्रदेश सरकारले गुरुयोजना बनाएको खुलासा गर्नुभयो ।

गढीमाई मन्दिर सञ्चालक तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा अर्थ राज्यमन्त्री उषा देवी यादव, समाजवादी पार्टीका महासचिव तथा सांसद रामसहाय यादव, प्रदेश सभा सदस्य रमेश यादव, शारदाशंकर प्रसाद, बच्चालाल यादव लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button