२०७८ साल साउन ९ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

पढाइ छाडेका बालिका पुनः विद्यालयमा

रेडियो नेपाल २०७६ असोज २७ गते १६:२२

 

बाँके। मध्यान्तरको समयमा एक हुल किशोरी चउरमा जम्मा भए । स–साना बालिकाहरु आ–आफ्नै सुरमा खेल खेल्न मग्न थिए । केही बालिका आकाशे रङको कमिजमा थिए त केही कुर्तामा । यी बालिकामध्ये केहीले सामान्य फित्तावाल चप्पल लगाएका थिए । बाँकीका खुट्टा खाली थिए ।

उनीहरुको अवस्था हेरेरै अभिभावकको आयस्तर न्यून रहेको अनुमान लगाउन सकिन्थ्यो । नेपालगञ्जको सल्यानी बङ्गलामा रहेको आधारभूत छात्रा विद्यालयको अवस्था हो यो । नेपालगञ्ज मधेशी र मुस्लिम समुदायको बाक्लो बसोबास भएको ठाउँ हो । यहाँका धनी परीवारले बालबालिकालाई निजी विद्यालयमा पढाउँछन् । आयस्तर न्यून भएका अभिभावकको छनोटमा सरकारी विद्यालय पर्ने गर्छ । तर, कतिपय अभिभावक आफ्ना बालबालिकालाई सरकारी विद्यालय पठाउन पनि समर्थ छैन । बालबालिकाले नै श्रम गर्नुपर्ने अवस्था छ ।

नेपालगञ्जमा मात्र करीब दुई हजार ५०० बालबालिका श्रममा रहेको एक तथ्याङ्क छ । सरकारी विद्यालयको विद्यालय पोशाक र किताब कापी किन्न नसक्ने भएकै कारण पनि कतिपय अभिभावक विद्यालय पठाउन नसक्ने अवस्थामा छ । अझ मधेशी र मुस्लिम समुदायले उच्च शिक्षाका लागि छोरीलाई कम प्रोत्साहन गर्ने गरेको पाइएको छ । छोरीलाई अर्काको घरमा जाने, केटा भएको विद्यालयमा पढाउँदा सानैमा भागेर विवाह गर्ने, अन्तरजातीय विवाह गरिदिने, प्रेम गर्ने डरका कारण विद्यालय नपठाउने गरेको अभिभावकहरु स्वयं बताउँछन् ।

धेरै बालिका शिक्षाको पहुँचबाट टाढा रहेको तथ्यलाई ध्यानमा राखेर नेपालगञ्ज उपमहानगरपालिकाले वडा नं ४, सल्यानीवागमा छात्रा विद्यालय सञ्ञ्चालनमा ल्याएको हो । यो यहाँको दोस्रो छात्रा विद्यालय हो । यसअघि सरस्वती माविमा छात्रा विद्यालय सञ्चालनमा ल्याइएको हो । मधेशी तथा मुस्लिम छात्राहरुको शिक्षामा पहुँच पु¥याउन यही शैक्षिक सत्रदेखि सल्यानी बङ्गलामा छात्रा विद्यालय सञ्चालनमा ल्याइएको नेपालगञ्जका मेयर डा धवलशम्शेर राणाले बताउनुभयो ।

अभिभावकको इच्छा अनुसार छोरीहरुलाई पढ्ने अवसर छात्रा विद्यालयमा भएको उहाँले बताउनुभयो । छात्रा मात्र अध्ययन गर्न पाउने गरी विद्यालय सञ्चालनमा आएपछि यहाँका मधेशी र मुस्लिम समुदायले पनि छोरी पढ्न पठाउन थालेका छन् । बाहिरी जिल्लाबाट नेपालगञ्ज झरेका, मजदूरी गरी जीवन चलाइआएका, आर्थिक स्थिति कमजोर भएका परिवारले पनि यहाँ छोरीलाई भर्ना गरेका छन् ।

पढाइ छोडेका पनि पुनः भर्ना

नेपालगञ्जकी २६ वर्षीया रविना राई छात्रा विद्यालयमा अध्ययनरत ४ वर्षीया छोरी लिन आएको अवस्थामा भेटिनुभयो । कालो बुर्काले अनुहार छोपेर आउनुभएकी उहाँले आर्थिक अवस्था कमजोर भएकाले छोरीलाई यहाँ निःशुल्क भर्ना गराएको बताउनुभयो । यहाँका मधेशी र मुस्लिम समुदायका अभिभावकहरु छोरी बिग्रने र उनीहरु असुरक्षित हुने डरले विद्यालय पठाउन चाहँदैनन् तर, छात्रा विद्यालय खुलेपछि सहज भएको अनुभव उनीहरुले गरिरहेका छन् ।

अर्का अभिभावक नजीर रहमान मधेशी तथा मुस्लिम समुदायमा छोरीहरु पढाउन पठाउन नमान्ने संस्कार अझै रहे पनि छात्रा विद्यालय खुलेपछि सहज भएको बताउनुहुन्छ । केटाहरु पढ्ने विद्यालयमा छोरीहरुले भागेर विवाह गर्ने, चाँडै विवाह गर्ने, केटाहरुले जिस्काउने चिन्ता अभिभावकमा छ । छोरीको पढाइ छुटेकाहरु पनि छात्रा विद्यालय खुलेपछि विद्यालय पठाउन थालेको स्थानीयवासी राविया शाहीले बताउनुभयो । उहाँले पनि छोरी यसै विद्यालयमा पढाइरहनु भएको छ ।

कक्षा ७ मा अध्ययनरत छात्रा रोशनी हलवाईले पनि पुनः पढाइलाई निरन्तरता दिनुभएको छ । छात्रा विद्यालय बन्नुका साथै उर्दू भाषामा पनि पढाइ हुने भएकाले पुनः विद्यालयमा पढाइ शुरु गरेको उहाँले बताउनुभयो ।

मुस्लिम समुदायमा नमाज पढ्न उर्दू भाषा आवश्यक छ । निःशुल्क पढ्न पाइनाका साथै उर्दू भाषामा पनि पढाइ हुने भएपछि मुस्लिम समुदायले छोरीहरु अध्ययनका लागि छात्रा विद्यालयमा पढाउन थालेको उर्दू भाषा पढाउने शिक्षक आरविदा जमाल बताउनुहुन्छ ।

उत्साहित अभिभावक

निर्धक्क भएर छोरी विद्यालय पठाउने वातावरण बनेकामा अर्की अभिभावक नेपालगञ्ज–४ की राज्मा हल्वाई पनि खुशी हुनुहुन्छ । उहाँले यही विद्यालयमा पढ्ने छोरीलाई पैसा नभएर कापी कलम किन्न नसक्दा विद्यालय छुटाउनुभएको थियो । छात्रा विद्यालय बनेपछि उपमहानगरपालिकाले आयस्तर उकास्न किराना पसल सञ्चालनका लागि उहाँले सहयोग पाउनुभयो । छोरीको पढाइलाई निरन्तरता दिने उहाँको सोच छ ।

उपमहानगरपालिकाले अभिभावकहरुको आर्थिक अवस्थामा सुधार ल्याउन बाख्रापालन, किराना पसल सञ्चालन लगायतका आयमूलक शीप दिएको नेपालगञ्ज–४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाको भनाइ छ । उहाँका अनुसार सामुदायिक विद्यालय भएकाले निःशुल्क पढाइ हुन्छ र विद्यालयले प्रोत्साहनका कार्यक्रम ल्याएपछि अभिभावकको आर्कषण बढेको छ ।

सल्यानी बङ्गलाकी स्थानीयवासी जुवेदा सल्मानीका चार छोरी पनि यसै विद्यालयमा अध्ययन गर्छन् । उहाँले पनि आयस्रोेत बढाउन दुई वटा बाख्रा पाउनुभएको छ । प्रोत्साहनका यस्ता कार्यक्रमले आफूहरुलाई छोरी पढाउन सहज भएको उहाँको भनाइ छ । यस्तै, उपमहानगरपालिका र वडा कार्यालयले छात्राहरुको विद्यालयमा आर्कषण बढाउन र टिकाइ राख्न प्रत्येक छात्रालाई मासिक दुई लिटर तेल वितरण गर्दै आएको छ । विद्यालय पोशाक, कापी कलम लगायतका छात्रवृत्तिको व्यवस्था पनि गरेपछि अभिभावकले बालबालिकालाई निरन्तर विद्यालय पठाउन थालेका छन् ।

छात्राहरु खुशी

अर्थाभावमा पढ्न नसक्नेहरुलाई यो विद्यालयले सहयोग पु¥याएको छ । तेल पनि पाइने, छात्राहरुसँगै पढ्न पाइने भएपछि छात्राहरु पनि खुशी छन् । कक्षा ८ की सादिया खान र कल्पना थारुले आफूहरुले पनि कम खर्चमा गुणस्तरीय शिक्षा पाएकामा खुसी व्यक्त गर्नुभयो । केटीहरु मात्रै भएपछि नबुझेका विषयमा प्रश्नहरु सोध्न उहाँहरुलाई सहज भएको छ ।

“पहिला केटाहरुले जिस्काउँथे, पढाइमा समस्या हुन्थ्यो, अहिले सहज छ,” थारुले भन्नुभयो । अहिले घरका अभिभावकबाट पनि निरन्तर विद्यालय आउन प्रोत्साहन मिलेको उहाँ बताउनुहुन्छ । एक वर्ष पढाइ छोडेर उहाँले अध्ययनलाई पुनः निरन्तरता दिनुभएको हो । अर्थाभावका कारण विद्यालय छोडेकामा उहाँजस्तै धेरै छात्राले अहिले निरन्तरता दिनुभएको छ ।

उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा लामो समयदेखि काम गरिरहनु भएकी किरण आचार्यलाई परामर्शदाताको जिम्मेवारी दिएको छ । धम्बोझी माविको शैक्षिक गुणस्तरमाथि उकास्न महत्वपूर्ण भूमिका खेल्नुभएकी आचार्यले विद्यार्थी केन्द्रित पढाइमा जोड दिएको बताउनुभयो । शुरुमा शिक्षकहरु धेरै खटिने गरे पनि नतिजा सन्तोषजनक थिएन । डेढ दशकदेखिको शैक्षिक अनुभव र सिकाइलाई विद्यालयको शैक्षिक गुणस्तर सुधार्न उपयोग गर्दैआएको आचार्यको भनाइ छ ।

उपमहानगरपालिकाले ९० लाखको लागतमा जीर्ण विद्यालय मर्मत गरेर पठनपाठन शुरु गरेको हो । छात्राहरु मात्र हुने भएकाले विद्यालयमा पढ्न आउनेको सङ्ख्या पनि बढेको छ । गतवर्ष १२० जना छात्रा अध्ययनरत रहेकामा यस वर्ष विद्यार्थी सङ्ख्या बढेर २५२ पुगेको छ ।
विद्यालयका प्रधानाध्यापक विधेसकुमार जैसवालले पहिलेको भन्दा विद्यालयको शैक्षिकस्तरमा धेरै सुधार आएको दावी गर्नुभयो । मुस्लिम बहुल क्षेत्र भएकाले छोरी पढ्न नपठाउने समस्या अन्त्य गर्न छात्रा विद्यालय सञ्चालन गरिएको उहाँको भनाइ छ । विद्यालयमा हाल उपमहानगरपालिकाको अनुदानमा १० वटा कम्प्युटरसमेत जडान गरिएको छ । यहाँ १३ शिक्षक कार्यरत छन् । उपमहानगरले आगामी वैशाखसम्म कन्या छात्रा कलेज सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । रासस

सम्बन्धित