तपाईँ सुन्दै हुनुहुन्छः

मुस्कान खातुनमाथि तेजाव प्रहारमा संलग्न युवाहरुको उमेर घटाउने चलखेल

बीरगंज – बीरगंज छपकैयाकी १५ बर्षिया किशोरी मुस्कान खातुनमाथि तेजाव प्रहारमा संलग्न युवाहरुको उमेर घटाउने चलखेल भएको खुलेको छ । वीरगन्जस्थित नारायणी क्षेत्रिय अस्पतालका ४ जना डाक्टरहरुले तेजाव प्रहारमा संलग्न समसाद मिया र मजिद मियाको उमेर १८ र २० वर्ष रहेको मेडिकल रिपोर्ट दिएका छन् । तर आफन्तहरु उनीहरुको उमेर घटाउन शक्तिकेन्द्र धाउन थालेको खुलेको हो ।

समसादको उमेर १८ वर्ष र मजिदको उमेर २० वर्ष रहेको मेडिकल रिपोर्टमा उल्लेख छ । तर परिवारजनले दुवैको उमेर क्रमशः १४ र १५ वर्ष भनेर प्रहरीमा दाबीसहित नाबालिक भएकोले त्यही अनुसारको सजायको लागि लबिङ गरिरहेका छन् ।

पर्सा क्षेत्र नं १ का सांसद प्रदिप यादवले मुस्कान खातुन माथि भएको तेजाव प्रहारको घटनाबारे प्रहरीले गरिरहेको अनुसन्धान र मुद्दाको प्रकृयाबारेमा प्रहरीसँग जानकारी लिनु भएको छ । पर्साका सञ्चारकर्मीहरुको रोहवरमा आज पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरसँग भेटेर उनले मुस्कान घटनाको अनुसन्धानबारे चासो देखाउँदै दोषीमाथि कानुन बमोजिम कारवाही गर्नेु पर्ने माग गर्नु भएको छ ।

गत भदौ २० गते घरबाट विद्यालय गइरहेको अवस्थामा वीरगन्ज–२ छपकैयाका दुई युवकले मुस्कानमाथि तेजाव प्रहार गरी गम्भीर घाइते बनाएका थिए । हाल मुस्कानको उपचार काठमाडौंको कीर्तिपुर अस्पतालमा भइरहेको छ । मुस्कानको अवस्था सधारोन्मुख छ । पछिल्लो पटक मुस्कान घटनाका अभियुक्तद्वय समसाद मिया र मजिद मियालाई सजायको सवालमा परिवारजनले चलखेल सुरु गरेपछि सासद यादवले प्रहरीसँग मुद्दाबारे जानकारी लिनु भएको हो ।

पर्सा प्रहरीले पनि प्रारम्भिक अनुसन्धानको क्रममा समसादको उमेर १७ र मजिदको उमेर १६ वर्ष मात्र तोकेकोमा सांसद यादवले चिन्ता व्यक्त गरेका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्याय, डेटिस्ट सोनी झा, अर्थोपेडिक डा. राजदेव कुशवाहा, रेडियोलोजिस्ट डा. विजयराज खनाल लगायतले मेडिकल रिपोर्टमा उमेर प्रमाणित गरिसकेका छन् । पर्सा प्रहरीले दशैँ विदालाई देखाउँदै अनुसन्धानमा ढिलाइ भएको जनाएर पर्सा जिल्ला अदालतमा मुद्दाको फाइल पेश नभएको र अब तत्काल फाईल पेश गरिने सांसद यादव सहितको टोलीलाई जानकारी दिएको छ । पर्साका प्रहरी उपरीक्षक राठौरले पक्राउ परेका अभियुक्तलाई कानुन बमोजिम कारबाही गरिने बताउनुभयो ।

उहाले २२ देखि २५ दिन भित्र जुन पनि मुद्दा अनुसन्धान गरेर अदालतमा पेश गर्नु पर्ने नियम रहे पनि चाडपर्वले केही दिन ढिलाइ हुँदै ३७ दिन पुगेको बताउनु भयो । यता स्कुल–क्याम्पसका छात्राहरुमाथि हुने गरेको दुव्र्यवहारका घटना तथा यौनजन्य हिंसा नियन्त्रणको लागि पर्सा प्रहरीले ठोस कदम चाल्नु पर्ने प्रहरी उपरीक्षक राठौरलाई सांसद यादवले आग्रह गर्नुभयो ।

विर्तामा सञ्चालित हार्डवेयर पसलका संचालक मनीषप्रसाद मण्डलको नाममा पक्राउ पुर्जी जारी भइसकेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । बिना स्वीकृति तेजाव तथा रसायनिक पदार्थ बिक्री गरेको आरोपमा उनीमाथि ज्यानसम्बन्धी मुद्दा र तेजाव खुल्ला रुपमा बिक्री गरेको मुद्दा लगाइएको पर्सा प्रहरीले जनाएको छ । ज्यानसम्बन्धी मुद्दामा १० वर्ष कैद सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button