२०७८ साल साउन १६ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

आतंक मच्याउने नरभक्षी चितुवा मार्न जिल्ला प्रशासन तनहुँको निर्देशन

किरण श्रेष्ठ २०७६ असोज २७ गते १३:२८

तनहुँ ।  मानिस तथा घरेलु पशुचौपायलाई पटक पटक आक्रमण गर्ने नरभक्षी चितुवालाई मार्न निर्देशन दिइएको छ । नरभक्षी चितुवाले डेढ वर्षको अवधिमा पाँच बालबालिकाको ज्यान लिएको छ ।

भानु नगरपालिका १, २, ३ र ४ नम्बर वडाका बालबालिकाको ज्यान लिने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले मार्न निर्देशन दिएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(४) बमोजिम नरभक्षी चितुवालाई मारेर डिभिजन वन कार्यालय तनहुँमा बुझाउन प्रहरीलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिका क्षेत्रमा वन्यजन्तु र मानवबीचको द्वन्द्व बढेपछि नियन्त्रण गर्नका लागि अग्रसरता देखाएको छ । चितुवाले आक्रमण गर्ने स्थानको पहिचान गरी खोर निर्माण गर्ने, आक्रमण गर्ने ठाउँहरुमा शिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जन समुदाय, डिभिजन वन कार्यालयको संयुक्त रुपमा गौडा कुर्ने व्यवस्था मिलाइएको छ ।

भानु नगरपालिकाको झाडी क्षेत्रहरूमा सरसफाई, सडक वरपर झार काट्ने काम गरिएको नगरपालिकाका प्रमुख उदयराज गौलीले जानकारी दिनुभयो । गौलीको अध्यक्षतामा आइतबार बसेको बैठकले नगर क्षेत्रको हरेक वडाका झाडी क्षेत्रको सरसफाई, बालबालिकालाई अभिभावकले हेरचाह गर्न समेत अनुरोध गरिएको छ ।

नरभक्षी चितुवाले २०७४ फागुन १ गते भानु–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, २०७५ कार्तिक २९ गते जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, मंसिर १९ गते ढल्केबरका १० वर्षीय अमृत गुरुङ, २०७६ जेठ २४ गते भकुण्डेथोकका ९ वर्षीया पुष्पा अधिकारी र असोज २१ गते जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाको ज्यान लिएको छ ।

गाउँ, वस्तीहरू जंगलसँग जोडिएकाले गर्दा पनि वन्यजन्तुको जोखिम बढी भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख डिभिजन वन अधिकृत केदार बरालले बताउनुभयो । वन्यजन्तुसँग मानिस आफैं सचेत हुनुपर्ने अवस्था रहेको बरालले बताउनुभयो ।

सम्बन्धित