तपाईँ सुन्दै हुनुहुन्छः

काङ्ग्रेसको चियापान शुरु   

काठमाडौँ – कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली काङ्ग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम एक बजेदेखि शुुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापानमा पार्टी कार्यकर्ता एवं आमन्त्रितको भीड छ । आमन्त्रितलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महतलगायत नेताले उभिएर स्वागत गरिरहनुभएको छ ।

चियापानकै अवसर पारेर नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहयोगमा पार्टी केन्द्रीय कार्यालय सानेपामा रक्तदानसमेत भइरहेको छ । हालसम्म तीन दर्जन बढीले रक्तदान गरेका छन् । चियापान बेलुकी ५ बजेसम्म जारी रहने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रमका लागि पार्टी केन्द्रीय कार्यालयमा झण्डासहित सजिसजाउ गरिएको छ । उपस्थितले शुभकामना आदानप्रदान गर्दै चियापान गरिरहेका छन् । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।

काङ्ग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला भारत प्रवासबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि उहाँलाई विभिन्न पेशा व्यवसायका व्यक्ति र राजनीतिकर्मी, कूटनीतिक निकायका प्रतिनिधि व्यक्ति भेट्न आउथे तर तत्कालीन शासकका गुप्तचरले भेट्न आउने व्यक्तिलाई चियोचासो र केरकार गर्थे । त्यसपछि दशैँको अवसरमा टीका लगाउने तथा भेट्न सजिलो हुन्छ भनेर बिपीले चियापान समारोह शुरु गर्नुभएको काङ्ग्रेसको इतिहासका लेखक पुरुषोत्तम बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, मन्त्री, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मी, सञ्चारकर्मीलगायत विशिष्ट महानुभाव एवं शुभेच्छुकको सहभागिता छ ।

काङ्ग्रेसले आज काठमाडौँ उपत्यकाका तीन जिल्लाको हकमा केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लाका सदरमुकाममा सम्बन्धित जिल्ला कार्यसमितिले चियापान समारोह आयोजना गरेको छ । सिन्धुपाल्चोकमा शुक्रबारको बस दुर्घटनामा परी १५ जनाको निधन भएकाले चियापान स्थगित गरिएको पार्टीले जनाएको छ ।

बिपीले शुरु गर्नुभएको चियापानको परम्परालाई पार्टीका पूर्व सभापतिहरु कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै हाल देउवाले निरन्तरता दिनुभएको हो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button