तपाईँ सुन्दै हुनुहुन्छः

बजारीकरण र प्रवद्धनको लागि आलु महोत्सव

दोलखा दोलखाको मेलुङ गाँउपालिकाले आलु महोत्सवको आयोजना गर्ने भएको छ । बार्षिक एक करोड भन्दा बढीको आलु उत्पादन र बिक्रि वितरण हुदै आएको मेलुङ गाँउपालिकामा आधुनिक प्रविधिबाट अग्र्यानिक आलु उत्पादन गर्दै कृषकहरुको आयस्तर बृद्धि गर्ने उदेश्यले मेलुङ आलु महोत्सव २०७६सालको आयोजना गर्न लागिएको गाँउपालिका प्रमुख नरबहादुर श्रेष्ठले बताउनुभयो ।

समुन्द्री सतहबाट सात सय ३० मीटर देखि ३३ मीटरसम्मको उचाई रहेको मेलुङ गाँउपालिका वडा नम्बर ३ को भुमेस्थान, काडेँ, बाटुले, वडा नम्बर ४ को फुर्के सल्ला, तीतेचौर, सहरे, लहरे, माथिल्लो दम्बुवा, सरङ्थली तथा वडा नम्बर ५ को दुधिले, भङ्ज्याङ, कल्छे, डाँडाखर्क र कात्तिकेमा अत्यधिकमात्रामा बर्षे आलु उत्पादन हुने र त्यसको व्यवस्थापन तथा बजारीकरणको लागि आलु महोत्सव महत्वपूर्ण बन्ने गाँउपालिका प्रमुख श्रेष्ठ बताउनु हुन्छ । त्यसैगरी गाँउपालिका वडा नम्बर १ को पवटी, वडा नम्बर २ को सुकाठोकर, वडा नम्बर ४ को धनुके र थामीडाँडा, वडा नम्बर ७ को ज्यामीरे, गर्भे र सितली, वडा नम्बर ६ को सिम्रास र निकासीमा हिउँदे मौसमी आलु उत्पादन हुने गाँउपालिका प्रमुख श्रेष्ठ बताउनु हुन्छ ।

दुई दिनसम्म सञ्चालन हुने आलु महोत्सवले मेलुङ गाँउपालिकालाई आलुमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने, प्राङ्गारिक आलु उत्पादनमा टेवा पुग्ने, आलु उत्पादन हुने स्थानहरुमा परम्परागत तथा आधुनिक भण्डारन निर्माणमा सहयोग पुग्ने, सामुहिक खेती प्रणालीको सुरुवात हुने, व्यवसायीक पशुपालन कार्यक्रम प्रवद्धन हुने, आलुको ग्रेडीङ, लेभलिङ र प्याकेजिङमा सहयोग पुग्ने, नीजि, सरकारी र सहकारीको सहयोगमा गाँउपालिका बाहिर समेत बिक्रि केन्द्र स्थापना हुने अपेक्षा गरिएको गाँउपालिकाले जनाएको छ ।

कार्तिक १ र २ गते सञ्चालन हुने आलु महोत्सव २०७६ को अवसरमा बिभिन्न सांस्कृतिक झाँकिहरुको प्रर्दशन, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति, आलुको बिभिन्न परिकारहरुको स्टल, मौसमी तथा बेमौसमी तरकारीहरुको स्टल र मेलुङ गाँउपालिकाको बिभिन्न ठाँउका तस्विरहरुको प्रर्दशन गरिने वडा अध्यक्ष एवं मेलुङ गाँउपालिकाका प्रवक्ता हिरा थोकरले बताउनुभयो ।

गाँउपालिकाका अधिकांश वासिन्दा कृषिमा निर्भर रहेको र बर्षा याममा आलु अत्यधिक उत्पादन हुने भएपनि भण्डारन तथा बजार ब्यवस्थापनको समस्याले कृषकहरु समस्यामा पर्ने भएकोले मेलुङ आलु महोत्सवको आयोजना गरिएको प्रवक्ता थोकर बताउनु हुन्छ । महोत्सवले आलुको भण्डारन, बजारीकरण र प्रवद्धनमा महत्वपूर्ण टेवा पुग्न सक्ने गाँउपालिकाको अपेक्षा रहेको पनि प्रवक्ता थोकर बताउनु हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button