तपाईँ सुन्दै हुनुहुन्छः

आज चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमण हुँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको नेपालको दुईदिने राजकीय भ्रमण  आजदेखि शुरु हुँदैछ । राष्ट्रपति सी चिनफिङ शनिवार काठमाडौँ आउँदै हुनुहुन्छ ।तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण हुन लागेको हो ।

 

विशेष विमानमार्फत उहाँ नेपाल आउनु हुँदा त्रिभुवन विमानस्थलमा उहाँलाई उच्च सम्मानका साथ स्वागत गरिनेछ । उहाँकै स्वागत र सुरक्षाका दृष्टिले करिब एक घण्टा विमानस्थलको उडान रोकिनेछ ।

राष्ट्रपति सी अपराह्न राष्ट्रपति भवन शीतल निवास पुग्नुहुनेछ । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति सीको विशेष स्वागत गर्नुहुनेछ । आफ्ना समकक्षी सीसँग राष्ट्रपति भण्डारीको शिष्टाचार भेटवार्ता हुने कार्यक्रम छ । शनिबार नै राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सीको स्वागतमा रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

 

आज नै राष्ट्रपति सीसँग प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले शिष्टाचार भेट गर्नुहुनेछ ।

आइतबार बिहानैदेखि चिनियाँ विशिष्ट अतिथि सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ ।

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति सीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button