तपाईँ सुन्दै हुनुहुन्छः

बेमौसमी मकैमा अमेरिकी फौजी किराको आक्रमण 


स्याङ्जा – यो समय प्राय पहाडी भु–भागमा बारीमा कोदो र खेतमा धान पाक्ने तयारीमा छन् । सामान्यतया कोदो र धान कात्तिक मंसिरमा यहाँका किसानहरुले भित्र्याउने गर्छन् । तर स्याङ्जाको गल्याङमा भने यतिबेला मकै गोड्मेल गर्ने समय भएको छ ।

गल्याङ नगरपालिकाले बेमौसमी मकै बजारमा ल्याउने र किसानहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बेमौसमी मकैको बिउ वितरण गरेको थियो । यहाँका वडा नं. १, २, ६, ७ ८, ९ र ११ मा मकै गोडमेल गर्ने समय भएको छ । यहाँका किसानहरुले केहिले नगरपालिकाबाट प्राप्त हाईब्रिड जातका बिउ छरेका थिए भने केहिले स्थानीय जातका मकै नै बारीमा छरेका हुन् ।

हिउँदमासमेत हरियो हराभरा वातावरण बनाउने र केही आर्थिक उपार्जन गर्ने योजना बुनेका स्थानीयलाई फौजी किराले सताएको छ । यहाँ लगाईएका मध्ये ७ रोपनी क्षेत्रफलका मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिएपछि स्थानीय निरास बनेका हुन् ।

नगरपालिकाका कृषि साखा प्रमुख शुसिल अर्यालका अनुसार मकैमा फौजी किराको प्रकोप नियन्त्रण गर्न तत्काललाई औषधी छर्ने बताउनुभयो । अर्यालले भन्नुभयो, “फौजी किरा यहाँ आएको डेढ वर्ष भएको छ । यसको आक्रमणले मकैका बोटका पातहरु खाईदिने, गुबामा लार्भा निकाल्ने गर्दा संख्यात्मक रुपमा समेत बृद्धि गरी मकै नै सखाप पार्ने गर्छ ।” अहिले लगाईएको मकै सामान्यतय मंसिरमा तयार हुने गर्छ । यहाँका केहि स्थानीयले लगाईएको मकै भने धानचमर निकाल्ने समय भएको छ । यसको नियन्त्रण गर्न जैविक विधि अपनाउनुपर्ने भएपनि तत्काललाई त्यो संभव नभएकाले औषधी राखेर नियन्त्रण गर्ने प्रयास गरिनेछ ।

नगरपालिकाका कृषि प्राविधिक सहितको टोलीले निरिक्षण गरी मकैमा फौजी किराको प्रकोप भएको ठहर गरेपछि नियन्त्रणको प्रयास गरिएको हो ।

नगरपालिकाका पशु शाखा प्रमुख अर्याल, बरिष्ठ कृषि प्राविधिक शिब ढकाल सहितको टोलीले मकैमा लागेको रोगको निरिक्षण गरेको हो । निरिक्षणका क्रममा कृषि प्राविधिक शिब ढकालले मकैमा देखिएको रोग दक्षिण अमेरिकी फौजी किरा रहेको बताउनुभयो । मकैका पात तथा डांठहरु फौजी किराले निकै मन पराउने हुनाले यसले मकैलाई आक्रमण गर्ने गर्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button