तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचनका लागि मतदाता नामावली सार्वजनिक 

काठमाडौँ – निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ ।

आयोगको आज बसेको बैठकले उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा ४ लाख ५४ हजार १ सय १४ मतदाताको नामावली स्वीकृत गरेको आयोगका प्रवक्ता गिरिजा शर्माले जानकरी दिनुभयो ।

स्वीकृत नामावली अनुसार महिला मतदाता २ लाख ३३ हजार ४ सय २, पुरुष मतदाता २ लाख २० हजार ७ सय १० र अन्य लिङ्गी मतदाता २ जना रहेका आयोगले जनाएको छ ।

प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ७१ हजार ८ सय ७१, प्रदेश सभा सदस्यको निर्वाचन हुने भक्तपुर, बाग्लुङ्ग र दाङ्गका सम्बन्धित निर्वाचन क्षेत्रमा क्रमश ४५ हजार १५, ३६ हजार ९ सय २६ र ७३ हजार १ सय ७२ जना मतदाता रहेका छन् ।

आयोगको आज बसेको बैठकले उपनिर्वाचन हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा कुल २ सय ४७ स्थलमा ५ सय ३७ मतदान केन्द्र तोकेको प्रवक्ता शर्माले बताउनुभयो ।

मंसिर १४ गते प्रतिनिधि सभा सदस्य एक, प्रदेश सभा सदस्य तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिका वडाअध्यक्ष ४३ गरी ५२ पदका लागि निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button