तपाईँ सुन्दै हुनुहुन्छः

४४ वर्षदेखि कुस्ती प्रतियोगिता   

परासी –    तराई क्षेत्रको संस्कृतिसँग जोडिएको लोपोन्मुख कुस्ती (दङ्गल) खेलप्रति पछिल्लो समय युवाको मोह बढ्दै गएको छ ।  विगतमा निकै लोकप्रिय मानिने यो खेलप्रति युवाकै चासो नहुनु तथा नयाँनयाँ खेलका कारण यसप्रतिको मोह घटेको थियो ।

कुस्ती भनेपछि अहिले जो कोही पनि हुरुक्कै हुने गर्दछन् । दशैँ, तिहारजस्ता चाडपर्वमा तराईमा लाग्ने मेलापर्व र महोत्सवमा कुस्ती नै प्रमुख आकर्षणका रुपमा रहने गरेको छ ।

विभिन्न चाडपर्वको अवसर पारेर पश्चिम नवलपरासीमा कुस्ती प्रतियोगिताले निरन्तरता पाउन थालेपछि यसप्रतिको मोह बढ्दै गएको छ । अहिले यहाँका युवा नै कुस्ती खेल संरक्षणमा क्रियाशील छन् । मनोरञ्जनसँगै शारीरिक र मानसिक तन्दुरुस्तीका लागि कुस्ती खेल निकै उपयोगी मानिन्छ ।

कुस्ती संरक्षण र खेलाडी उत्पादन गर्न भन्दै पश्चिम नवलपरासीको परासीका युवाको सक्रियतामा विगत ४४ वर्षदेखि विराट कुस्ती प्रतियोगिता सञ्चालन हुँदै आएको छ । लोप हुन लागेको यो खेलको संरक्षण पनि हुने र यसप्रति पछिल्लो पुस्ताको आकर्षण पनि बढाउँदै खेलाडी उत्पादनका लागि ४४ वर्षदेखि निरन्तर कुस्ती प्रतियोगिता सञ्चालन गर्दै आएको रामग्राम नगरपालिका–२ का वडाध्यक्ष चन्द्रीका अग्रहरि बताउनुहुन्छ ।

यहाँको राधाकृष्ण कालिका एवं सङ्कटमोचन हनुमान मन्दिर व्यवस्थापन संस्था तथा दुर्गा पूजा समितिको आयोजनामा प्रत्येक वर्ष असोज शुक्ल एकादशीको दिन आयोजना गर्ने विराट मेलाको प्रमुख आकर्षण नै कुस्ती हुने गर्दछ । नेपाल र भारतका पहलमानले माटोको मञ्चमा अल्झिएर खेल्ने यो खेल हेर्न लाखौँ सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ । दर्शकले निकै चाख लिएर यो खेल हेर्ने गरेका छन् ।

“कुस्ती संरक्षण गर्नु नै हाम्रो मुख्य उद्देश्य हो, यसलाई हामी लोप हुन दिदैनाँै, निरन्तर हाम्रो प्रयास जारी रहनेछ”, समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष अग्रहरिले भन्नुभयो ।

प्रत्येक वर्ष नै आयोजना हुने यो प्रतियोगिताबाट स्थानीयस्तरमै कुस्ती खेलाडी उत्पादन भइरहेका छन् भने पुराना खेलाडीको हौसला बढेको विगत ४४ वर्षदेखि नै कुस्तीको प्रशिक्षकका रुपमा रहनुभएका रामवृक्ष यादवले बताउनुभयो ।

“यो खेल हाम्रो मधेशको संस्कृतिसँग जोडिएको छ, तराईको गहना नै हो, यसलाई पर्वमा मात्र सीमित गर्नु हँुदैन”, उहाँले भन्नुभयो । अहिले तीन तहका सरकार रहेको अवस्थामा अन्य खेललाई जस्तै कुस्ती खेल र खेलाडीको विकासमा ध्यान दिनुपर्ने उद्योग वाणिज्य सङ्घ नवलपरासीका अध्यक्ष केशव भण्डारी विचार राख्नुहुन्छ ।

यसैबीच यस वर्ष पनि बुधबार नेपाल र भारतका राष्ट्रियस्तरका पहलमानहरुको सहभागितामा परासीमा सञ्चालन गरिएको विराट दङ्गल प्रतियोगिताको उपाधि भारतले जितेको छ । भारतका पहलमान अनिल शहानी र नगेन्द्र यादवले फाइनल खेलमा बराबरीमा रोकिएपछि दुवै जनाले उपाधि बाँडेका हुन् । ४० पहलमानले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतियोगिताको एक लाख बढी दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button