तपाईँ सुन्दै हुनुहुन्छः

सडकको कोपभाजनमा दोलखाको ‘खड्ग जात्रा’

दोलखा।  ऐतिहासीक दोलखा सहरमा विजया दशमीको भोलीपल्ट दिनभर प्रर्दशन गरीने प्रमुख सांस्कृतिक पर्व खड्ग जात्रा स्तरोन्नतीको क्रममा अलपत्र परेको लामोसाँगु चरिकोट सडकको कोपभाजनमा परेको छ ।

२०७२ सालको विनाशकारी भुकम्पमा समेत उत्साहजनक ढङ्गले मानिसको सहभागिता रहेको खड्ग जात्रामा सडकको दुरावसथाकै कारण यो पटक मानिसको सहभागिता घटेको भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष एवं स्थानिय भरत श्रेष्ठले बताउनु भयो । दोलखाको भीमेश्वर मन्दिरमा समेत बली पुजा आधा घटेको श्रेष्ठले बताउनु भयो ।

पौराणिक कथामा आधारीत यो जात्रा हरेक बर्ष विजया दशीमीको टिकाको भोलीपल्ट दोलखा सहरको बिभिन्न टोलमा प्रर्दशन गरीदै आएको छ । खड्ग जात्रा सेतो दौरा, सेतो जामा र सेतै फेटा पहिरी जमाराको माला लगाई, खड्ग हातमा लिएर बजारको विभिन्न भागमा युद्धको शैलीमा नाच्दै मनाइन्छ । मल्ल कालीन समयदेखि चल्दै आएको यो जात्रा देवदेवीले महिषासुर दानवको वध गरी विजय प्राप्त गरेको सम्झनामा बडा दशैँ टीकाको भोलिपल्ट दिनभरि मनाइने परम्परा रहेको याकरगण परिवारका सदस्य नविन प्रधानले बताउनु भयो । यो जात्रामा याकरगणलाई मुख्य पात्रको रुपमा हेरिन्छ ।

किंवदन्ति अनुसार दानवहरुले देवदेवी तथा मनुष्यहरुलाई विभिन्न प्रकारले दुःख दिन लागेपछि देवदेवीहरुले युद्ध गरी महिषासुर दानवको बध गरी दुःखबाट पार पाउने निष्कर्ष निकालेर युद्धको साइत जुराई भाद्र पूर्णिमादेखि युद्ध सुरु गरेका थिए । युद्ध सुरु हुनुअघि देवदेवीहरु पूजा सामग्री साथ निमन्त्रणा र सहयोगको लागि देवदेवीहरु जनै पूर्णिमाको अघिल्लो दिन कालिञ्चोक भगवती भएको ठाँउमा जाने र जनै पूर्णिमाको दिन त्यहीँबाट निसाना लिएर आई दोलखा सहरको राइती भन्ने तीन धारा अगाडि यज्ञको सुरुवात गरी युद्ध गर्ने परम्परा रहेको छ ।

देवदेवीले राइतीमा यज्ञ गरेको खवर पाएपछि दानवहरु यज्ञ ध्वस्त गर्न त्यस ठाँउमा आए र यज्ञमा वितण्डा मच्चाउन थाले । दानवहरुको यस्तो कार्यले देवदेवीहरु क्रुद्ध भए र दानव तथा देवदेवीको बीचमा भीषण युद्ध भयो । युद्धमा दानवहरु पराजित भए र विजया दशमीको दिनमा देवदेवीले महिषासुरको शिर छेदन गरी विजय हासिल गरे । यसरी देवदेवीले युद्धमा महिषासुरको बध गरी विजय हासिल गरेको सम्झनाको लागि दोलखा सहरमा खड्ग जात्राको सुरुवात गरिएको स्थानीय बृद्धहरु बताउँछन् ।
खड्ग जात्रा मनाउन दोलखाको राजकुलेश्वरदेखि केही तल रहेको चक्र डबलीमा नवमीको दिन पुजारीहरुद्वारा चामलको भातबाट चक्रेश्वर वलि राजाको मूर्ति बनाई स्थापना गरी स्थानीय कुसुलेहरुद्वारा राँगाको बलि दिने प्रचलन समेत रहेको स्थानीय बृद्धहरुको भनाइ रहेको छ । भीमेश्वरमा बलि दिने चारवटा राँगा मध्य एउटा राँगाको मासु ताछी घाँटी नछिनाई भीमेश्वरको मन्दिर भन्दा केही तल रहेको त्रिपुरा सुन्दरी मन्दिरमा लाने प्रचलन समेत रहेको छ । त्यसरी लानुको अर्थ ‘महिसासुरलाई यातना दिइएको’ मानिन्छ ।

भीमेश्वर डोबर डबलीबाट युद्ध नाच कालीको मन्दिर हुँदै त्रिपुरा सुन्दरी मन्दिरमा पुग्छ र त्रिपुरा सुन्दरीसँग सहायता मागी उनको नाबालक छोरा बटुक भैरबलाई घण्टा, डमरु, खड्ग सहितको राँगाको आन्द्राको माला लगाई युद्धको लागि लिएर जाने प्रचलन रहेको स्थानीय बृद्धहरु बताउँछन् । बटुक भैरव समेतको सेना त्रिपुरा सुन्दरीबाट ढुङ्गल टोल, नागेश्वर मन्दिर, पिंगल टोलको महादेव स्थान, राजकुलेश्वर हुँदै चक्रराज बलि राजाको मूर्ति स्थापना गरेको ठाँउमा पुग्ने र भीमेश्वर स्थान तथा त्रिपुरा सुन्दरी मन्दिरमा बलि दिइएको राँगाको टाउको राखी राजकुलेश्वर भगवती र बटुक भैरवले खड्ग प्रहार गरी महिषासुरको शिर छेदन गर्दै सगुन सहित बाजा बजाएर विजय उत्सव मनाई खड्ग जात्राको समापन गर्ने प्रचलन रहेको छ । खड्ग जात्रा सम्पन्न भएपछि साँझमा त्रिपुरा सुन्दरी र राजकुलेश्वर मन्दिरको पुजारीले राजकुलेश्वर मन्दिर अगाडि बसी सर्व साधारणलाई टीका लगाई दिने प्रचलन समेत रहेको छ ।

दोलखा सहर छुट्टै राज्य हुदा हाय हाय राजाको पाला देखिनै प्रचलनमा रहेको खड्ग जात्रालाई मल्ल राजाको पालामा व्यवस्थित गरिएको थियो । अहिले यो जात्रामा बिभिन्न भूमिकामा रहने व्यक्तिहरु क्रमशः नयाँ पुस्तामा हस्तान्तरण हुदै गएको भरत श्रेष्ठको भनाई छ ।

यो जात्रा हेर्न देशको बिभिन्न ठाँउमा रहेका दोलखाका स्थानिय प्रसस्तै आउने गरेका थिए भने दोलखाको बिभिन्न ठाँउ र छिमेकी रामेछाप र सिन्धुपाल्चोक तथा काठमाडौँ, ललितपुर र भक्तपुरबाट समेत मानिसहरु आउने गरेकोमा यो पटक सडककै कारण मानिसहरु आउन नसकेको स्थानियको भनाई छ । लामोसाँगु चरिकोट सडकको स्तरोन्नतीको काम समयमै नसक्ने हो भने दोलखाका सांस्कृतिक पर्वहरुमा मानिसको सहभागिता क्रमशः घट्दै जाने स्थानिय बताउछन् ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button