तपाईँ सुन्दै हुनुहुन्छः

सदरमुकाम सुनसान : गाउँमा दशैँको चहलपहल  

डोटी, १९ असोजदशैँ नजिकिँदै गर्दा जिल्लाका विभिन्न गाउँमा स्थानीयवासीको चहलपहल बढेको छ ।   जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल भने सुनसान बन्दै गएको छ ।

यहाँका जिल्ला सदरमुकाममा अध्ययन गर्ने विद्यार्थी, कर्मचारी व्यापार व्यवसाय गरी बस्ने व्यापारी र सरकारी कार्यालयमा बिदा पछि कर्मचारीसमेत बाहिरिएपछि सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल सुनसान बनेको हो ।

रोजगार, अध्ययन र अन्य कामका लागि गाउँबाट बहिरिएका चाडबाडका लागि गाउँ फर्केपछि यहाँका ग्रामीणवस्तीमा भने निकै चहलपहल छाएको सायल गाउँपालिकाका स्थानीय सिद्धराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “कामको सिलसिलामा गाउँ छोडेर गएका अहिले धमाधम गाउँ फर्किन थालेपछि यहाँका गाउँमा दशैँको निकै चहलपहल बढेको छ, तर शहर बजार भने खाली हुँदै गएका छन् ।”

शनिबारदेखि सदरमुकामका बजार करीब करीब सुनसान बनेको दिपायल पिपल्लास्थित अमरपुस्तक पसलका सर्वजित देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “सबै मान्छे आ–आफना गाउँ फर्किन थालेका छन्, बजारमा व्यापारसमेत घटेको छ ।” बजारमा व्यापार आधाभन्दा बढी घटेको पिपल्लाका अर्का व्यवसायी सन्तोष नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा खासै मान्छे देखिदैनन्, ग्राहक नहुँदा बजारसमेत सुनसान बन्दै गएको छ ।”

यहाँका बजारमा व्यापार व्यवसाय गर्ने आधाभन्दा बढी ग्रामीण क्षेत्रका विभिन्न गाउँबाट आएका छन् भने कतिपय जिल्ला बाहिरबाट आएर व्यापार व्यवसाय गरीरहेका छन् । उनीहरूसमेत अधिकांश पसल बन्द गरेर गाउँ फर्केपछि यहाँको बजार अहिले सुनसान हुन थालेको हो ।

बजारभरिमा सुरक्षाकर्मी मात्रै देखिने गरेका छन् । सदरमुकाम बाहिरका गाउँमा भने चहलपहल निकै बढेको छ । ग्रामीण क्षेत्रका दर्जनौ गाउँमा चर्खे र लिङ्गे पिङले रमाइलो बढाएको केआईसिंह गाउँपालिका–५ रानागाउँका स्थानीय सुरेन्द्रविक्रम शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँमा निकै रमाइलो भएको छ, गाउँबाट बाहिरीएका सबै गाउँघर फर्किदैछन्, अहिले त यहाँका गाउँ बजार भन्दा कम छैनन् ।” त्यस्तै यहाँका ग्रामीण क्षेत्रका पसलमा व्यापार व्यवसाय पनि निकै फष्टाएको स्थानीयबासी बताउँछन् ।

त्यस्तै यहाँका ग्रामीण क्षेत्रमा रहेका पुराना दरवार, कोट तथा भगवतीका मन्दिरमा दैनिक हुने पूजापाठसमेतले गाउँको रौनक छुट्टै बनाएको छ । यहाँका निरौलीकोट, धुर्कोकोट, जोरायल, गड्सेरा, बोगटान, बडिकेदारमा रहेका कोट तथा भगवतीका मन्दिरमा घटस्थापनादेखि नै पूजापाठ गर्नेको भीड लाग्ने गरेको छ ।

सबै कोटमा एक सातासम्म पूजापाठ गरेर नवमीका दिन पञ्चवलि दिइने चलन रहेको छ । पहिला सधैं सुनसान लाग्ने यहाँका गाउँमा अहिले निकै रमाइलो र चहलपहल बढेको स्थानीयबासी बताउछन् । सदरमुकामको तुलनामा ग्रामीण बजारमा व्यापार व्यवसायसमेत बढ्दो क्रममा रहेको जोरायल गाउँपालिका–१ गैराका स्थानीय छपेस मल्लले बताउनुभयो ।

सडक सुविधाले गाउँमै खोजेरोजे अनुसारका सबै सामग्री पाइने भएपछि गाउँका बजारमा दिनहुँ भीड लाग्ने गरेको उहाँले बताउनुभयो । अधिकांश गाउँलाई सडक यातायातले छोएका कारण पनि स्थानीय अहिले धमाधम आफना गाउँघर फर्किन थालेका हुन् । पिपल्ला, अत्तरिया, सिलगढीमा नै दशैंको किनमेल गर्नेले अहिले जिल्लाकै ग्रामीण बजारमा किनमेल गर्ने गरेका छन् ।

यहाँका ग्रामीण क्षेत्रका बजारमा दशैँको किनमेल गर्नेको भीड बढेको व्यवसायी बताउँछन् । दशैँसँगै गाउँमा सांस्कृतिक कार्यक्रमको रौनकसमेत बढ्दै गएको छ । स्थानीय युवा क्लब र काठमाडौँमा बस्ने गरेका यहाँका कलाकारले गाउँ फर्केका बेला रमाइलो गर्ने उद्देश्यले एक दर्जन गाउँमा दशैँको अवसर पारेर सांस्कृतिक कार्यक्रम आयोजनासमेत गरिरहेका छन् ।

रासस /विमलबहादुर विष्ट   

प्रतिक्रिया राख्नुहोस्

Back to top button