तपाईँ सुन्दै हुनुहुन्छः

सवारी चेकजाँच तथा अनुगमन

फाइल फोटो

रुपन्देही । प्रदेश नं ५ को प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समितिले चाडपर्वमा यात्रुहरुकोे सुरक्षित आवागमनलाई मध्यनजर गर्दै शनिबार बुटवलको बसपार्क क्षेत्रमा अनुगमन गरेको छ ।

चाडपर्वका समयमा हुने सडक दुर्घटना र यात्रुको सुविधालाई मध्यनजर गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयको अगुवाइमा प्रहरी र सरोकारवालाहरुको समन्वयमा बसपार्क क्षेत्रमा सवारी जाँच र अनुगमन गरिएको हो । दशैँका समयमा पुख्र्यौली घर फर्किने यात्रुहरुको यात्रा सहज होस् भन्ने उद्देश्यले बसपार्कमा सवारी साधनको उपलब्धता, काउण्टरले प्रदान गरेको सेवा, बसमा सवार यात्रुहरुको अवस्थाबारे जाँच र अनुगमन गरिएको समितिका संयोजक तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव शङ्करप्रसाद खरेलले जानकारी दिनुभयो ।

समितिले दशैँ, तिहार, छठलगायतका चाडपर्वका समयमा हुने सवारी साधन एवं सवारीको चापलाई ध्यानमा राखी सुरक्षित यात्राको व्यवस्था मिलाउन यात्रु, चालक, सवारीधनी एवं आम नागरिकमा अपिलसमेत गरेको उहाँले बताउनुभयो । अनुगमनका क्रममा कतिपय यात्रुहरुले समयमा गाडी नछुटेको, एउटै सिटमा दोहोरो टिकट दिएको, गाडी नम्बर उल्लेख नगरी टिकट दिँदा समस्या भएको गुनासो गरेको समितिका संयोजक खरेलले बताउनुभयो ।

यसैबीच विजयादशमी, दीपावली र छठ पर्वलाई लक्षित गरेर रुपन्देही प्रहरीले विशेष सुरक्षा रणनीति बनाएको छ । चाडपर्वका बेला हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा योजना मजबुत पारिएको प्रहरीले जनाएको छ ।

चाडपर्वको समयमा आपराधिक गतिविधि हुनसक्ने भएकाले विशेष सुरक्षा सतर्कता अपनाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । “सर्वसाधारण ठगिने, लुटिने र रमाइलोका नाममा मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने, जुवातास खेल्नेजस्ता क्रियाकलाप हुन सक्छन्, त्यसको नियन्त्रणका लागि प्रहरी सतर्क छ ।” इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले भन्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button