तपाईँ सुन्दै हुनुहुन्छः

बडा दशैंः आज फूलपाती

काठमाडौँ । नेपाली हिन्दुहरुको महान चाड वडा दशैँ अन्तर्गत आज सप्तमी, पर्व घरघरमा फुलपाती भित्र्याई हर्षोल्लासका साथ मनाइएको छ ।

आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गा भवानीलाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

फुलपाती भित्र्याएपछि नवदूर्गाको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने नेपाल पञ्चाङग निर्णायक समितिका अध्यक्ष एव धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

यसैबीच, नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ समारोह गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत मन्त्रीहरु, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा विभिन्न पेशा व्यवसायका प्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वागत गर्नुभएको थियो ।

टुँडिखेलमा आयोजित समारोहलाई रेडियो नेपालले प्रत्यक्ष प्रसारण गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button