तपाईँ सुन्दै हुनुहुन्छः

‘ऐतिहासिक महत्वका दस्तावेजहरुको संरक्षण, संवद्र्धनमा अभिलेखालयको भूमिका महत्वपूर्ण’

काठमाडौँ – राष्ट्रिय अभिलेखालयको ५२ औँ वार्षिकोत्सव आज विभिन्न कार्यक्रम गरी मनाईएको छ । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको विभिन्न कालखण्डमा भएका सभ्यता, संस्कृति लगायतका ऐतिहासिक महत्वका दस्तावेजहरुको संरक्षण, संवद्र्धन र व्यवस्थापनमा अभिलेखालयले पुर्याएको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

मन्त्री भट्टराईले नेपाल विश्वकै मानव सभ्यताको अत्यन्त पुरानो ईतिहास बोकेको मुलुक रहेको भन्दै ती समयमा भएका विभिन्न महत्वपुर्ण कामको दस्तावेजहरुलाई राष्ट्रिय अभिलेखालयले भण्डारणका रुपमा मात्र नराखी अध्ययन अनुसन्धान गर्न चाहनेहरुका लागि अभिलेखालय खुला पुस्तकालयका रुपमा रहेको बताउनुभयो ।

मन्त्री भट्टराईले ऐतिहासिक महत्व बोकेको अभिलेखालयको कार्यालय आदेशका भरमा सार्न नमिल्ने भन्दै कार्यालय रहेको जग्गाको विवाद समाधानका लागि सरकारले सर्वोच्च अदालतसँग छलफल गरी आवश्य प्रक्रिया अगाडी बढाउने जानकारी दिनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिब केदार बहादुर अधिकारीले भौतिक पुर्वाधारको विकासमात्रै नभई आफ्नो ईतिहास, भुगोल र संस्कृतिप्रति गर्व गर्न सक्नुपर्ने भन्दै सरकारले यस्ता सभ्यता र संस्कृतिको संरक्षणमा आवश्यक सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले विश्वकै सम्पदाको रुपमा रहेको अभिलेखालयको भवनलाई अन्यत्र सार्न नमिल्ने भन्दै यसको थप संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय अभिलेखालयका निमित्त प्रमुख सौभाग्य प्रधानाङ्गले विभिन्न भाषामा रहेका ऐतिहासिक दस्तावेजहरुलाई प्रविधिहरुको उपयोग गरी अभिलेखालयले संरक्षण गरीरहेको बताउनुभयो ।

पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले अभिलेखालयमा राष्ट्रिय महत्वका कागजातहरुको सुरक्षा, संरक्षण सम्बद्र्धन र व्यवस्थापन गर्न आधुनिक प्रविधिहरुको प्रयोगका लागि अभिलेखालयले कर्मचारीहरुलाई तालिमको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button