तपाईँ सुन्दै हुनुहुन्छः

चालक सम्मानमा यात्रुको गुनासो सम्बोधन

दोलखा – सुरक्षित यात्राको लागि सवारी चालकलाई जिम्मेवार बनाउने उदेश्यसहित ट्राफिक प्रहरीले सुरु गरेको तीन दिने चालक सम्मान कार्यक्रममाको क्रममा दोलखामा ८७ जना सवारी चालकलाई सम्मान गरिएको छ ।

सडक सभ्य हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना भन्ने नाराका साथ सुरु गरिएको चालक सम्मान कार्यक्रममा बाहिरबाट जिल्ला भित्रेका तथा जिल्लाबाट बाहिर जान लागेका ८७ वटा सवारी साधनका चालकलाई फुलमालासहित सम्मान गरिएको जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रहरी जवान जगदिश कार्कीले बताउनुभयो ।

चालक सम्मानको क्रममा सवारी चालकहरुलाई समय-समयमा सवारी साधनको जाँच गर्ने, यात्रुहरुको संख्या, नाम, ठेगानाको अभिलेख राख्ने, सवारी साधनको गन्तव्य, लाग्ने समय, रोकिने स्थान आदिको बारेमा प्रस्थान गर्नु अघिनै यात्रुहरुलाई जानकारी गराउने, यात्रुहरुसंग मित्रवत व्यवहार गर्ने, सवारी साधनको गति समिति गर्ने, यात्रुहरुको सामानको सुरक्षाको प्रबन्ध मिलाउने, सिट क्षमता भन्दा बढी यात्रु नराख्ने जस्ता विषयमा जानकारी गराईएको ट्राफिक प्रहरी जवान कार्कीले बताउनुभयो ।

सो क्रममा यात्रुहरुलाईसमेत सवारी साधनमा यात्रा गर्नु पूर्व आफ्नो सामानको बारेमा चालक तथा सहचालकलाई जानकारी गराउने, चालक, सहचालकले मादक पर्दाथ सेवन गरेको देखे तुरुन्तै प्रहरीलाई खबर गर्ने, गाँडीबाट झर्दा दाँया बाँया हेरेरमात्र बाटो काट्ने, छतमा चढेर यात्रा नगर्ने, पाकेटमार देखि सावधान रहने, सवारी साधनबाट अनावश्यक रुपमा शरिरको कुनै भाग बाहिर ननिकाल्न आग्रह गरिएको थियो ।

चालक सम्मानको क्रममा दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मानबहादुर राईले यात्रालाई सुरक्षित र मर्यादित बनाउन चालक, सहचालक तथा यात्रुहरु सबै जिम्मेवार र इमान्दार हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख प्रहरी नायव निरीक्षक गोकर्ण नेपाल, प्रहरी सहायक निरीक्षक चन्द्रमान तमाङ लगायतको सहभागिता रहेको थियो । चालक सम्मानको क्रममा एक हजार छ सय यात्रुहरुको गुनासो समेत सम्बोधन गरिएको जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button