तपाईँ सुन्दै हुनुहुन्छः

उच्चस्तरीय तालिबानी प्रमण्डल पाकिस्तान भ्रमणमा  

इस्लामाबाद –  अफगानिस्तानको विद्रोही समूह तालिबानले एक उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पठाउने घोषणा गरेको छ । रसिया, चीन, पाकिस्तान र इरानको भ्रमण गर्ने यसअघिकै घोषणा बमोजिम प्रमण्डललाई पाकिस्तान पठाउन लागिएको हो ।

एक महिनाअघि संयुक्तराज्य अमेरिकासँगको वार्ता एकाएक भङ्ग भएपछि तालिबान समूहले अफगानिस्तानमा भिषण हमलाहरु गर्नुका साथै विभिन्न देशसँग वार्ताका लागि समर्थन जुटाउने कार्यलाई निरन्तरता दिएको छ ।

तालिबान प्रवक्ता सुहेल शाहीनका अनुसार तालिबानका सहसंस्थापक तथा कतारको दोहास्थित राजनीतिक कार्यालयका प्रमुख मुल्लाह अब्दुल घानी बरादरले ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ । प्रतिनिधिमण्डलले इस्लामावादमा पाकिस्तानी उच्च अधिकारीहरुसँग वार्ता गर्नेछ ।

पाकिस्तानी सञ्चार माध्यमहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अफगान विशेषदूत जाल्मे खलिलजाद पाकिस्तानी अधिकारीहरुसँग वार्ताका लागि इस्लामावादमा रहेको खबर सार्वजनिक गरेसँगै तालिबान समूह पनि पाकिस्तान भ्रमणमा आएको छ ।

पाकिस्तानको विदेश मन्त्रालय वा पाकिस्तानस्थित अमेरिकी राजदूतावासले तालिबानको भ्रमण र खलिलजादका विषयमा केही टिप्पणी गरेका छैनन् ।

पाकिस्तानले अमेरिकासँग कुनै किसिमको सहमति गर्नुअघि काबुलसँग वार्ता गर्न तालिबानलाई मनाउने प्रयत्न जारी राखेको छ ।

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको काबुलमा तालिबानले गराएको कार बम बिस्फोटमा एक अमेरिकी सैनिकको मृत्यु भएसँगै तालिबानसँगको शान्ति वार्ता समाप्त भएको भन्दै वार्ता नगर्ने घोषणा गर्नुभएको थियो ।

तालिबानीले वार्ताको टेबुलमा फाइदा उठाउन खोजेको आरोप लगाउँदै उहाँले यसको अमेरिकाले बदला लिने संकेत समेत गर्नुभएको थियो । वार्ता रद्द भएको घोषणापछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट तत्काल पाँच हजार सैनिक कटौती गर्ने प्रस्ताव पनि अन्यौलमा परेको थियो ।

हाल अफगानिस्तानमा १३ देखि १४ हजार अमेरिकी सैनिक तैनाथ छन् । झण्डै १८ वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेनाले हाल अफगानी सेनालाई तालिम, परामर्श र हवाई सेवा प्रदान गरिआएको छ ।

अल–कायदाले सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा आतंकवादी हमला गरेलगत्तै संयुक्तराज्य अमेरिकाले अफगानिस्तानमा आक्रमण गरी सेना पठाएको थियो । अफगानिस्तानमा तत्कालीन तालिबानी सरकारले अलकायदालाई आश्रय दिएको अमेरिकी आरोप छ ।

ट्रम्प प्रशासनले हाल अफगानिस्तानमा अमेरिकी सैनिक संलग्नता अन्त्य गर्न चाहेको छ । यसै सिलसिलामा सन् २०१८ देखि तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादको नेतृत्वमा वार्ता जारी छ ।

अमेरिका र तालिबानबीच हुने भनिएको सम्झौतामा अफगानिस्तानबाट अमेरिकी सेना चरणबद्धरुपमा फिर्ता हुने, अफगानिस्तानलाई जिहादीहरुको सुरक्षित आश्रयस्थल बन्न नदिइने, अफगानिस्तान सरकारसँग वार्ता गर्ने तथा अन्ततः युद्धविराम गर्ने बुँदा रहेको बताइएको थियो ।

यसैबीच, तालिबान समूहका मुख्य मध्यस्थकर्ताले संयुक्तराज्य अमेरिकासँग “वार्ताको ढोका” अझै खुला रहेको बताएर वार्ताको सम्भावना जीवितै रहेको संकेत गर्नुभएको छ । युद्धग्रस्त मुलुक अफगानिस्तानमा जारी भिषण बम हमलापछि तालिबानका तर्फबाट उक्त भनाई सार्वजनिक भएको छ ।

तालिबानसँगको वार्ताका मध्यस्थकर्ता शेर मोहम्मद अब्बास स्टानिक्जाईले देशभर भएका आक्रमणमा तालिबान समूह संलग्न रहेको र त्यो सही कदम भएको दाबी गर्नुभएको छ ।
रासस/एपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button