तपाईँ सुन्दै हुनुहुन्छः

घोडेपानीमा पर्यटक खचाखच 

गलेश्वर –   राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रशिद्ध पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढे पनि प्रतिकूल मौसमका कारण पर्यटकले दृश्यावलोकनको आनन्द लिन पाएका छैनन् ।

विगत पाँच दिनदेखि छिनछिनमा बादल लाग्ने, वर्षा हुने तथा मौसमले साथ नदिएपछि कैयौं दिन लगाएर घोडेपानी तथा पुनहिलको भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटक निराश हुने गरेका छन् । मौसम प्रतिकूल भए पनि शरद ऋतुको शुरुवातसँगै अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीमा विभिन्न नाकाबाट पर्यटकको आगमन बढीरहेकाले यहाँका होटल खचाखच भरिएका इलाका प्रहरी कार्यालय घोडेपानीका प्रमुख सर्वजित गुरुङले बताउनुभयो ।

कास्कीको पोखरा–नयाँ पुल, घान्दु्रक हँुदै घोरेपानी र यता म्याग्दी सदरमुकाम बेनी–तातोपानी, घारा, शिख हँुदै घोरेपानी र नागी–महरेडाँडा हँुदै पुनहिलमा जानेमा अधिकांश चीन, वेल्जियम, इटली, जर्मन, इजरायल, फ्रान्स, अमेरिका, कोरिया, बेलायत, भारतलगायतका मुलुकका पर्यटक भ्रमणका लागि आएका इलाका प्रहरी कार्यालयका प्रमुख गुरुङको भनाइ छ ।

नौ जना चिनियाँ पर्यटकलाई लिएर घोडेपानी आएका पर्यटक गाइड सन्तमान गुरुङले मौसम प्रतिकूल भएका कारण पर्यटकले घोडेपानी र पुनहिलबाट हिमशृङ्खलाको दृश्यावलोकन गर्न नपाएका बताउनुभयो । “दैनिक ३५० को हाराहारीमा पर्यटक आउँछन्’ । कास्की क्षेत्रबाट आउने अत्याधिक छन्” उहाँले भन्नुभयोे । यहाँ आएका पर्यटक दुई÷तीन दिनसम्म घोडेपानी,पुनहिल तथा आसपासका क्षेत्रमा रमाउने गर्दछन् ।

समुदी सतहबाट तीन हजार २१० मिटरको उचाइमा अवस्थित घोडेपानीमा मनोरम हिमशृखला, मगर जातिको संस्कृति र रहनसहन, विविध प्रजातिका पशुपक्षी, वनस्पतीको साथै सूर्योदयको अवलोकन, स्थानीय कला तथा मगर नृत्यलगायत प्रस्तुत गरी पर्यटकलाई आकर्षित गर्ने गरिएको स्थानीय होटल व्यवसायी पूर्णबहादुर पुनले जानकारी दिनुभयो ।

‘मौसम खराबीका कारण अन्य पर्यटकीय क्षेत्रमा जान नसकेका समेत आएका छन्’ उहाँले भन्नुभयो । मगर समुदायको मात्र बस्ती रहेको घोडेपानीमा ४८ घरधुरी रहेकोमा अधिकांशले पर्यटन व्यवसाय गरी बसेका छन् । चार दशकअघि अन्नपूर्ण पदयात्रा मार्ग शुरु भएपछि बाटो हिँडने पर्यटकका लागि चिया, नास्ता खुवाउन खुलेका साना होटल तथा भट्टीले पर्यटकको बाक्लो आगमनसँगै अहिले सुविधा सम्पन्न होटल बनेका छन् ।

पर्यटकलाई लक्षित गरेर स्थानीय आमा समूह र होटल व्यवसायी समितिले सरसफाइमा नमूना बनाउने प्रयास गरिरहेको छ । पर्यटकको आगमन बढ्दै जान थालेपछि प्रहरीले पर्यटकको सुरक्षाका लागि विभिन्न गस्ती गर्न थालेको छ । विश्वको उत्कृष्ट १० गन्तव्यभित्र पर्ने अन्नपूर्णमा २१ दिने अन्नपूर्ण परिक्रमा पदयात्रामार्ग अन्तर्गत घोडेपानी १७ देखि १९औँ दिनको सुन्दर गन्तव्य हो ।

४५ वर्षअघि २०३२ सालदेखि घोडेपानीमा बस्ती विस्तार भएसँगै होटल व्यवसायले फड्को मार्न थालेको स्थानीय होटल व्यवसायीको भनाइ छ । शुरुमा टहरो बनाएर होटल व्यवसाय शुरु गरेका यहाँका व्यवसायीले अहिले करोडांै रुपैयाँ खर्च गरेर विदेशी पर्यटक लक्षित सुविधा सम्पन्न होटल सञ्चालन गरेका हुन् ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button