तपाईँ सुन्दै हुनुहुन्छः

दशैंको चौथो दिन : कुष्माण्डा देवीकाे पूजा गरिँदै

काठमाडौं । नेपाली समाजमा मनाइने महान पर्व बडा दशैंको चौथो दिन शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठामा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै छ ।

कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नाे उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थमा उल्लेख गरिएको छ ।

उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ । यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा,सर्प लगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । यी देवीको वदनवर्ण वैजनी छ भने उनी बाघमा चढेकी छन् ।

कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छन् । यी दुई घडा नै सृष्टिका आधार वस्तु बताइएको छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो ।

उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button