तपाईँ सुन्दै हुनुहुन्छः

अविरल वर्षासँगै आएको बाढीपहिराले डडेल्धुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध

लगातारको अविरल वर्षासँगै आएको बाढीपहिराले डडेल्धुराका आधा दर्जन ग्रामीण सडकमा यातायात अवरुद्ध भएको छ । जिल्लाका सात स्थानीय तह जोड्ने कच्ची सडक हिलाम्मे तथा भाँसिदै गएपछि यातायातका साधन चल्ने अवस्था नभएको उग्रतारा यातायात प्रालिले जनाएको छ ।

बगरकोट–रुपाल, कोटेली–धनकाट, देवल–राजुल, कोरालखोला–रेल र पोखरा बेलापुर सडक अविरल वर्षाका कारणले अवरुद्ध भएका छन् । पाँच दिनदेखि परेको अविरल वर्षाले जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाअन्तरगत डोला बस्तीस्थित सडक भाँसिदा सास्ती भएको सोहीरुटका सवारी चालक उमेश मालीले जानकारी दिनुभयो । सडकमा ढुङ्गामुढा राखेर आवतजावत गर्नुपरेको उहाँको गुनासो छ ।

यस्तै गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिकाका सडक चिरा–चिरा भइ भासिँदै गएको अवस्थामा पुगेका उहाँको भनाइ छ । गन्यापधुरा–२ कोरगाउँ जोड्ने जिरोप्वाइन्ट र पारिखेत जोड्ने बाटो अवरुद्ध भएको हो । दशैँ–तिहारमा दैनिकजस्तै घर फर्किन लागेका यात्रुलाई ग्रामीण सडकमा लगातारको वर्षाले अवरुद्ध बनाउँदा सास्ती खेप्नुपरेको स्थानीयवासीको गुनासो छ ।

जताततै भिरालो ठाउँमा सडक खन्नालले र सडकको स्तरोन्नति नहँुदा यस्तो समस्या आएको नवदुर्गा–४ का स्थानीयवासी गणेश कैनीले गुनासो गर्नुभयो । सडक अवरुद्ध हुँदा घर जान नापाएको र सदरमुकाममा बस्नुपरेको उहाँले बताउनुभयो । उहाँ दशैँका लागि भारतको मुम्बईबाट आउनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button