तपाईँ सुन्दै हुनुहुन्छः

नमोबुद्ध र धुलिखेलको आफ्नै नगरगान

काभ्र्पलाञ्चोक । नमोबुद्ध र धुलिखेल नगरपालिकाले आफ्नै नगरगान बनाएका छन् । पाँचखाल नगरपालिका पनि आफ्नै गान बनाउने तयारीमा जुटेको छ ।

हामी पौरखी नगरबासी, हामी बनाउँछौँ हाम्रो नगर
शिक्षा, स्वास्थ्य, सुशासन हाम्रो चाहना हो ।
कला, धर्म र संस्कृति, हाम्रो गहना हो
हामी बोल्छौँ सत्य, हाम्रो मन छ शुद्ध,
हाम्रो नगर नमोबुद्ध, राम्रो नगर नमोबुद्ध ।।

विगत दुई वर्षदेखि नमोबुद्धले आफ्ना हरेक कार्यक्रमको शुरुआतमा आफ्नो नगर गान बजाउँदै आएको छ । गत वर्षको भदौदेखि नगरगान बजाउन थालिएको हो । छ मिनेट २५ सेकेण्डको नगरगान ९भिडियो० मा नगरवासी पौरखी भएकाले आफ्नो नगर आफैँ बनाउने र शुद्ध मन भएका नगरवासीले सत्यपूर्वक शिक्षा, स्वास्थ्य, सुशासनमा रही स्थानीय कला, धर्म र संस्कृतिलाई गहना बनाएको छ ।

नगरप्रमुखमा पदबहाली भएपछि नगरगानको आवश्यकता महसुस गरी शुरुमै निर्माण गरिएको नगरप्रमुख टङ्कप्रसाद शर्माले बताउनुभयो । “ऐतिहासिक दाप्चा शहर र ऐतिहासिक नमोबुद्ध पर्यटकीयस्थल एवं प्रकृतिको धनी छौँ हामी, यी सबैलाई नगरगानमा समेटेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार ऐतिहासिक पलाञ्चोक भगवतीको माइतीका रुपमा परिचित देवीस्थान र धार्मिक दृष्टिले परिचित काँसीखण्ड पनि यही नगरमा पर्दछन् । उक्त नगरगान देशविदेशमा रहेकाले सुन्न र हेर्नका लागि यू–ट्युबका पनि अपलोड गरिएको छ ।

नमोबुद्धको नगरगान नगरवासीले समय–समयमा आफैँ बजाएर सुन्ने पनि गरेका छन् । “हाम्रो नगरगान निकै रमाइलो र प्यारो लाग्छ, त्यसैले बेला–बेलामा सुनिरहन्छु”, भकुण्डेका किशोर तिमल्सिनाले भन्नुभयो । संस्कृतिविद् सत्यमोहन जोशीले विसं २०७४ भदौमा एक कार्यक्रमका बीच उक्त नगरगानको विमोचन गर्नुभएको हो ।

यस्तै, धुलिखेलले भने आफ्नो नगरगान बनाएको नौ वर्ष भइसक्यो । चार मिनेटको नगरगानमा धुलिखेलले आफ्नो ऐतिहासिकस्थल र पर्यटकीयस्थललाई समेटेको छ ।

स्वागत छ है पाहुनालाई
समृद्ध धुलिखेल घुम्नलाई
शिक्षा, स्वास्थ्य।।।।

“हाम्रो कला, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले करीब नौ वर्षदेखि यो नगरगान बजाउँदै आइएको छ”, नगरप्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले भन्नुभयो । उहाँले नगरगानलाई केही परिमार्जित गर्न नगरवासीबाटै लिखितरूपमा माग आएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रस्ताव आउनेक्रम जारी छ, अब सर्टिङ गरी छनोटको प्रक्रियामा जानेछौँ ।”

धुलिखेल आफैँमा पर्यटकीय नगर हो । धुलिखेलको प्राकृतिक सुन्दरता, उत्तरतर्फका हिमालय पर्वत शृङ्खला सजिलै नियाल्न सकिन्छ भने र सुविधाजनक होटल तथा मनोरक दृश्यका कारण निकै चर्चित बनेको र यी विषयलाई परिमार्जित गीतमा थप समेटिने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

पाँचखालले पनि हाल आफ्नै नगरगान बनाउने योजना बनाएको छ । “हामी अहिले आफ्नै नगरगान बनाउने विषयमा छलफलमा जुटेका छौँ”, नगर उपप्रमुख लक्ष्मी दनुवारले भन्नुभयो । उहाँका अनुसार स्थानीय धार्मिकस्थल, पर्यटकीयस्थल र कृषिलाई जोड दिएर नगरगान (अडियो/भिडियो) निर्माण गरिनेछ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button