तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिका भवनको शिलान्यास, नेता रिजाललाई नेकपा कार्यकर्ताको अवरोध

दमौली-जिल्लाको ऋषिङ गाउँपालिकाको नयाँ भवनको शिलान्यास गरिएको छ । ऋषिङ गाउँपालिका–७ पोखरीभञ्ज्याङमा निर्माण गरिन लागिएको सो भवनको आइतबार पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले शिलान्यास गर्नुभयो ।

वडास्तर, गाउँसभा र गाउँ कार्यपालिकाको शतप्रतिशत सहमतिको निर्णयमा पोखरीभञ्ज्याङमा गाउँपालिकाको भवन बनाउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो ।

गाउँपालिकाको केन्द्र बनाउने सवालमा कुनै पनि गाउँसभाको सदस्यको असहमति नभएको हुँदा पोखरीभञ्ज्याङमा नै भवन बनाउन लागिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । रु तीन करोड ६१ लाखको लागतमा सो भवन निर्माण हुन लागेको हो । यसैबीच गाउँपालिकाको भवन शिलान्यास गर्ने कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले अवरोध गरेका थिए ।

उनीहरुले तत्कालीन सर्वदलीय संयन्त्र र जिल्लास्तरको प्राविधिक समितिको सिफारिस र निर्णय विपरीत पोखरीभञ्ज्याङमा गाउँपालिकाको भवन बनाउन लागिएको भन्दै शिलान्यास कार्यक्रममा अवरोध गरेका थिए । गाउँपालिका बन्दको कार्यक्रमसमेत आयोजना गरिएको थियो । उनीहरुले प्रमुख अतिथि आउने सडक भिमाद–ऋषिङ सडकमा रुख ढालेर अवरोधसमेत गरेका थिए ।

बन्द र अवरोधका बाबजुद प्रहरीको कडा सुरक्षा र स्कर्टिङमा डा रिजाल कार्यक्रमस्थल पुग्नुभयो । कार्यक्रमस्थलमा जम्मा भएका नेकपाका कार्यकर्ताले गाउँपालिकाको केन्द्र बनाउने निर्णयमा आफूहरुको असहमति रहेको हुँदा शिलान्यास नगर्न अनुरोध गरेको नेकपा ऋषिङ गाउँ कमिटी अध्यक्ष गञ्जसिंह गुरुङले बताउनुभयो ।

त्यसलगत्तै नेकपाका कार्यकर्ताहरु नारा जुलुस र कोणसभाको आयोजना गरी अन्यत्रै गएपछि नेता डा रिजालले भवन शिलान्यास गर्नुभएको थियो । सो क्रममा झडप हुनसक्ने आशङ्काले ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । शिलान्यास पछि काङ्ग्रेस नेता रिजालले लोकतन्त्रमा विरोध गर्न पाइने भए पनि कसैलाई अवरोध गर्न नपाईने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button