तपाईँ सुन्दै हुनुहुन्छः

नेपालीहरुको महान चाड बडा दशैं सुरु : आज घटस्थापना, घरघरमा जमरा राखिदै

काठमाडौं ।  नेपालीहरुको महान चाड दशै आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्‍विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडा दसैँ आजदेखि प्रारम्‍भ भएको हो।

बडा दसैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरी दियो, कलश र गणेश स्थापना गरेर वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गा देवीको आव्हान गरी पूजा आरम्भ गरिन्छ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ । जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।
आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्वपूर्ण कृत्य सम्पन्न गरिन्छ । एक कृत्य यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी–देवताको आवाहन गरिन्छ ।

यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।

माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसै स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ ।

अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजाआजा गरिन्छ । ब्रह्मवैवर्त पुराण भन्ने ग्रन्थका अनुसार वर्णन गरिएका नवदुर्गाहरू यी हुन् स् प्रकति(पूर्व, चण्डिका(आग्नेय, भद्रकाली(दक्षिण, सर्वमङ्गला(वायव्य, वैष्णवी( उत्तर, शिवप्रिया(ईशान, जगदम्बिका( जल, थल र आकाश ।

यी नामहरूले दुर्गाहरू विभिन्न दिशाका अधिष्ठात्री देवीहरू भएको कुराको चाल पाइन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालिका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ । यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ ।

आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दशैं पूजाको थालनी गरिएको हो ।

यसैले दशैंको अवसरमा आ–आफ्नै आगमस्थित देवी भगवती जगदम्बाको पूजा गरिनुबाहेक अन्य देवीस्थलहरूमा गई देवीदेवताहरूको पूजा(उपासना, पुकार तथा दर्शनको लागि जानु आवश्यक नपर्ने वास्तविकतातिर औंल्याएको पाइन्छ ।

यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती (चण्डी), स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ ।

पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । बलि दिइसकेपछि यस दिनको कार्य समापन गरिन्छ ।

आज १२ गतेबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु हुने छ । १८ गते शनिबारको दिन फूलपाती परेको छ । २१ गते मंगलबार टीका र २६ गते आइतबार कोजाग्रत पूर्णिमा छ ।

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रुपको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फुलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button