तपाईँ सुन्दै हुनुहुन्छः

सगरमाथाको प्रवेशद्वारमा हिलारी र तेन्जीङको सालिक

जिरी दोलखा  ।  जतिबेला सगरमाथा आरोहीहरु पैदल यात्रा गर्दै सोलुखुम्बुको बेस क्याम्प तिर लाग्थे, उनीहरुको प्रवेशद्वार हुन्थ्यो दोलखाको जिरी । त्यसैले जिरीलाई सगरमाथाको प्रवेशद्वार भनिन थालियो ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सन् १९५३ मे २९ मा मानव पाईला राख्ने सर एड्मण्ड पर्सिभल हिलारी र तेन्जीङ नोर्गे शेर्पा पनि जिरी प्रवेशद्वार हुदै आरोहणको लागि सगरमाथातिर गएका थिए ।

जिरी नगरपालिकाले उनीहरुकै सम्मान र सम्झनामा जिरी लिंकनमा हिलारी र तेन्जीङको सालिक सहितको पार्क निर्माण गरको छ ।

शुक्रवार नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहालले हिलारी र तेन्जीङको सालिक अनावरण गर्नु भयो । जिरी एफएमको दोस्रो वार्षिक उत्सव र जिरी नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन समेत गर्नु भएका अध्यक्ष दहालले जिरी पर्यटकहरुको लागि महत्वपूर्ण गन्तवय हुने र त्यसको लागि पार्टी र सरकारको तर्फबाट गर्नुपर्ने कामको लागि आफुले पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।

१० बर्षे जनयुद्ध पछि खुला राजनीतिमा आए लगतै आफुले जिरीलाई आफ्नो गन्तव्यको प्राथामीकतामा राखि घुम्न आएको स्मरण गर्नु हुदै अध्यक्ष दहालले जिरी भिजिट २०/२० को लागि देशी एवं विदेशी पर्यटकहरुको लागि प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने बताउनु भयो ।

जिरी नगरपालिकाले बिभिन्न ठाँउमा पार्क निर्माण गरेको छ । सगरमाथाको प्रवेशद्वार जिरी हुदै पहिलो पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने दुई आरोहिहरुको सम्मानको लागि उनीहरुको सालिक सहितको पार्क निर्माण गरिएको जिरी नगरपालिकाका प्रमुख टंक जिरेलले बताउनुभयो ।

हिलारी र तेन्जीङको सालिक सहितको पार्क निर्माण हुनु र यसको अनावरण पूर्व प्रधानमन्त्री पुष्पकमल दहालको हातबाट गर्नु महत्वपूर्ण रहेको उल्लेख गर्नुहुदै नगरप्रमुख जिरेलले यसले जिरीमा अधिक पर्यटक भित्राउने कुरामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नूभयो ।

नेपाली कांग्रेस जिरी नगरपालिकाका सभापति शोनाम सेर्पाले जिरीको विकासमा पक्ष प्रतिपक्ष केही नरहेको उल्लेख गर्नुहुदै सगरमाथाको प्रवेशद्वार जिरीमा प्रथम सगरमाथा आरोहिको सालिक सहितको पार्क निर्माण हुनु धेरै महत्वपूर्ण कार्य भएको बताउनुभयो । जिरीमा स्टोन पार्क, बुद्ध पार्क लगायत बिभिन्न पार्कहरु निर्माण भईरहेकोले भिजिट २०/२० मा अत्यधिक पर्यटकले जिरीको भ्रमण गर्ने अपेक्षा लिईएको शेर्पाले कार्यक्रममा बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button